दक्षिण कोरियामा अवैधानिक आप्रवासी श्रमिकलाई घरफिर्तिको अवसर

news-details

दक्षिण कोरिया सरकारले त्यहाँ अवैधानिक रूपमा बसेका आप्रवासी श्रमिकलाई बिनाजरिवाना देश छाड्ने सुविधा दिएकाले त्यस अवसरलाई सदुपयोग गर्न त्यहाँस्थित नेपाली दूतावासले आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

दूतावासले सूचना सार्वजनिक गर्दै कोरियामा कोरोनाको बुस्टर डोजसमेत लगाएका तर कागजातविहीन भएर बसेका नागरिकलाई कोरिया सरकारले तोकेको समयभित्र देश छाड्न आग्रह गरेको हो । कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँ रहेको नेपाली दूतावासले भनेको छ–‘विदेशी नागरिकलाई कोरोनाको बुस्टर डोज खोप लगाउन प्रोत्साहन गर्नका लागि कोरियाले यो योजना ल्याएको छ ।’

दूतावासका अनुसार सन् २०२२ अप्रिल ३० सम्म कोरियामा कोरोना खोपको तेस्रो (बुस्टर) डोज लगाएका र ३१ अक्टोबर २०२२ सम्म स्वेच्छाले कोरिया छाड्ने कागजातविहीन विदेशी नागरिकलाई जरिवाना छुट र प्रवेश प्रतिबन्धमा पनि फुकुवा हुनेछ ।

यस्तै २८ फेब्रुअरी २०२२ सम्ममा पूर्णरूपमा खोप लगाएका र ३० अप्रिल २०२२ सम्ममा स्वेच्छाले कोरिया छाड्ने अवैध बासिन्दालाई जरिवाना छुट र प्रवेश प्रतिबन्ध भने निलम्बन हुने जनाइएको छ । आपराधिक कार्यमा संलग्न, खोप नलगाएका व्यक्ति, कोभिड प्रतिबन्धको उल्लङ्घन गर्ने र अध्यागमन अधिकारीले पक्राउ गरेका अवैध विदेशी नागरिकको हकमा भने यो योजना लागू नहुने दूतावासको सूचनामा उल्लेख छ ।

खोप लगाएको ई–प्रमाणीकरण वा प्रिन्ट कपी पेस गर्नुपर्छ । दूतावासको सूचनाअनुसार यसरी फर्कंदा लाग्ने जरिवाना सबै छुट हुनेछ भने प्रवेश प्रतिबन्ध निलम्बनबाट समेत छुट पाउन सकिन्छ । आवेदन प्रस्थानको मितिभन्दा कम्तीमा तीन दिनअघि पेस गर्नपर्छ । बिदाको दिनको गणना हुँदैन ।

दूतावासले कोरियामा पछिल्लो समय ओमिक्रोन भेरियन्ट सङ्क्रमण बढिरहेको छ । तर खोप लगाउने विदेशी नागरिकको सङ्ख्या कम छ । विदेशी नागरिकमा सङ्क्रमण बढ्दै गएकाले यसबाट जोगिन कोरिया सरकारले तोकेका स्वास्थ्य मापदण्डको पालना गर्नसमेत नेपाली नागरिकलाई आग्रह गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *