वैदेशिक रोजगारी : मलेशियाबाट १८ नेपालीको शव ल्याइपुर्याउँदा विमानस्थलमा छायो पुरै सन्नाटा

news-details

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो । एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ ।

शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उडेको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्यु भएर त्यहाँ अलपत्र अवस्थामा थिए । मृतकका परिवारको पीडालाई बुझेर निगमले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको निगमले उल्लेख गरेको छ ।

निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको शव लिनकै लागि निगमले पहिलोपटक वाइडबडी जहाज प्रयोग गरेको हो । वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ ।

गैरआवासीय नेपाली संघ मलेसियाले नेपाल सरकार तथा सम्बन्धित निकायलाई पत्र नै काटेर तत्काल शव नेपाल पठाउन अनुरोध गरेको थियो । एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले भने–‘ हामीले जिउँदो हुँदा त उद्धार गर्न सकेनौ, मरेपछि पनि ढिलाई हुँदा एनआरएन मलेसियाले सरकारलाई तत्काल वाइडबडी विमान पठाएर शव स्वदेश पठाउनका लागि जोडदार मागसहित अनुरोध गरेका थियौं ।’

तत्पश्चात मलेशियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । एनआरएन मलेसियाका अनुसार अझै त्यहाँ ३७ वटा शव रहेको छ । ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ ।

विदेशमा अलपत्र नेपाली कामदारको शव नेपाल ल्याएर निगमले सामाजिक उत्तरदायित्वको उदाहरणीय काम भएको निगमका सहप्रवक्ता शुलेख मिश्रले बताए । महिनौँदेखि अलपत्र अवस्थामा रहेका नेपालीको शव ल्याउन निगमको जहाज प्रयोग भएको छ । निजी क्षेत्रका जहाजले शव बोक्न आनाकानी गर्ने गरेको अवस्थामा निगमले प्रशंसनीय काम गरेको छ ।

निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए ३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *