सरकारको असमन्वय र देशमै रोजगारीका अवसर नहुँदा मानव तस्करीका घटना बढ्दै गएको सरोकारवालाहरुको भनाई

news-details

सरकारको कमजोर प्रस्तुति तथा सम्बन्धीत निकायहरुसँग समन्वयको अभाव तथा देशभित्र रोजगारीका अवसर नहुँदा वैदेशिक रोजगारीका नाममा मानव तस्करीका घटना बढ्दै गएको सरोकारवालाहरुले औँल्याएका छन् ।

वैदेशिक रोजगार पत्रकार समाजले हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा बुधबार आयोजना गरेको ‘कोरोना महामारीको समयमा मानव तस्करीको अवस्था’ विषयक कार्यक्रममार्फत सरोकारवालाहरुले सो कुरा औँल्याएका हुन् ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभाकी सदस्य सांसद डा. डिला संग्रौलाले नेपालमा रोजगारी नहुनु त्यसमाथि कोरोनाका कारण कतिपय गन्तव्य मुलुकहरुमा वैधानिक बाटोबाट जान सहज नहुनु लगायत कारण युवाहरु जस्तोसुकै जोखिम मोलेर पनि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता बढेसँगै पछिल्लो समय मानव तस्करीका घटना बढ्दै गएको बताइन् ।

‘मानव तस्करीका घटना बढ्दै जानुमा दुई वटा पक्ष दोषि जस्तो लाग्छ । एउटा देशमा रोजगार दिन नसक्नु । अर्को गन्तव्य मुलुकमा सहज रुपमा कामदार जाने वातावरण नहुनु । यस्ता समस्याको पाटोमा काम गर्ने हाम्रो संयन्त्र पनि कमजोर छ,’ उनले भनिन् । मानव तस्करीका घटना कम गर्न देशमा रोजगारीका अवसर बढाउनुपर्ने, विदेशबाट फर्किएका युवाहरुलाई देशमै पुनस्र्थापना गर्नुपर्ने उनको भनाई छ ।

कतिपय गन्तव्य मुलुकस्थित नेपाली दूतावासहरुले मागपत्र प्रमाणीकरणको काम सहज नबनाइदिँदा राज्यकै कमजोरीका कारण युवाहरु अवैध रुट तथा अवैध प्रकृयामार्फत वैदेशिक रोजगारीमा जान बाध्य रहेको डा. संग्रौलाले जोड दिइन् । सरकारका सबै निकाय तथा सम्बन्धीत सरोकारवालासँग समन्वय गरी मानव तस्करका घटना कम गर्न सकिने उनको सुझाव छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी डा. देवबहादुर बोहराले कोभिडका कारण धेरै युवाहरु बेरोजगार बनेको र विदेशबाट पनि रोजगारी गुमाएर युवाहरु फर्किने क्रम बढेकाले मानव तस्करीका घटनाले बढवा पाउँदै गएको बताए । ‘मानव तस्करीको घटना घट्नुभन्दा पनि निरन्तर बढ्दो छ । उनले भने, ‘मानव बेचबिखन ब्यूरोले यो महामारीको बीचमै करिब ३२ जना मानव बेचबिखन तथा ओसारपसारमा संलग्न अपराधिलाई पक्राउ गरेको छ ।’ वैदेशिक रोजगारीमा राम्रो काम र कमाईको प्रलोभनमा मानव तस्करीका घटना बढ्दै गएको व्युरो प्रमुख एसएसपी डा.बोहराले उल्लेख गरे ।मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा ब्यूरोले उल्लेख्य भूमिका निर्वाह गरिरहेको उनको दावी छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले गत फाल्गुन २९ गतेदेखि भदौ १४ गतेसम्म वैदेशिक रोजगारीमा श्रम स्वीकृति, मागपत्र प्रमाणीकरण लगायत केही प्रकयाहरु बन्द रहेपनि हाल विश्वका सबै मुलुकहरुमा नेपाली श्रमिकहरुका लागि बाटो खुल्ला रहेको बताए ।

संस्थागत रुपमा तथा व्यक्तिगत रुपमा नेपाली श्रमिकहरु विश्वका जुनसुकै मुलुकमा जान नेपाल सरकारले खुल्ला गरे पनि खाडीका कतिपय गन्तव्य मुलुकहरुले आन्तरिक कारणले मागपत्र प्रमाणीकरणको काम नगरेकाले केही असहज भएको उनको भनाई छ ।

‘मागपत्र प्रमाणीकरणको विषयलाई सहजीरकण गरिदिन परराष्ट्र मन्त्रालयमा हामीले अनुरोध गरिरहेका छौँ । आन्तरिक व्यवस्थापनका केही असहज कारण छन् भन्ने छन् । तर अहिले जुन तरिकाले युएई लगायत देशमा भिजिटभिसामार्फत कामदार पठाउने कुरा सुनिएका छन् । हामीले एउटा ढोका बन्द गर्रौँ भने अर्को ढोकाबाट मानिसहरु छिर्न खोज्छन् । यो स्वभाविक पनि हो,’ महानिर्देशक दाहालले भने ।

मागपत्र प्रमाणीकरणको समस्यामाथि परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर नीतिगत रुपमा सहजीकरण गर्ने उनको जोड छ । ४० लाखभन्दा बढी नेपाली युवाहरुले जिविकोपार्जन गर्ने वैदेशिक रोजगारीको क्षेत्र निकै ठूलो सञ्जाल रहेकाले यसमा राम्रा र नराम्रा दुवै पाटाहरु रहेको महानिर्देशक दाहालको भनाई छ । यसभित्र मानव तस्करका संस्थागत तथा व्यक्तिगत गिरोहहरु सक्रिय रहेको उनले बताए ।

विभागमा आएका वैदेशिक रोजगारीका नाममा ठगी तथा तस्करीका घटनामाथि आफूले निगरानी बढाएको र अपराधमा संलग्न व्यक्तिहरुलाई कारबाही प्रकृया बढाइरहेको उनको दावी छ । मानव तस्करी नियन्त्रणमा विभागले मात्र नभएर सम्बन्धीत सबै सयन्त्रले सक्रिय रुपमा काम गर्नुपर्ने उनले जोड दिए । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु पनि सचेत हुनुपर्ने उनले जोड दिए ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठ बेरोजगार समस्याका कारण मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएको बताउँछन् । कतिपय व्यक्ति तथा संस्था समेत महत्वकाक्षी हुँदा समेत मानव बेचबिखनका घटना बढ्दै गएको उनले औँल्याए ।

‘अहिले मागपत्र प्रमाणीकरण नभएका कारण पनि अनधिकृत रुपमा युवाहरुलाई ति गन्तव्य मुलुकमा पठाउने क्रम बढेको छ । भदौ १४ गतेदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खुल्ला भए पनि यो बीच करिब ३ महिनाको समयमा मागपत्र प्रमाणीकरण हुन नसक्नु आश्चर्यको कुरा हो,’ कार्यक्रममा बोल्दै श्रेष्ठले भने ।

मागपत्र प्रमाणीकरणको सहजीकरणका लागि वैदेशिक रोजगार विभाग तथा श्रम मन्त्रालयले गर्नुपर्ने आफ्नो काम गरिरहे पनि सम्बन्धीत दूतावासहरुले नगरिदिँदा यसमा समस्या देखिएको उनको भनाई छ । यसको प्रमुख कारण वैदेशिक रोजगारीका प्रकृयाहरु एकद्वार प्रणालीमार्फत नहुनु उनको टिप्पणी छ । कोभिडले मात्र होइन कोभिड नहुँदाको सामान्य अबस्थामा पनि दूतावासहरुले सहजरुपमा मागपत्र प्रमाणीकरण नगरिदिएको प्रति उनले दुःख व्यक्त गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *