वैदेशिक रोजगारको समसामयिक बिषयमा प्रगतिशिल मञ्च र विभागबीच छलफल

news-details

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समसामयिक बिषयलाई लिएर वैदेशिक रोजगार विभागका महानिर्देशकसँग छलफल गरेको छ ।

मञ्चका संयोजक रामप्रसाद भान्तनासहितको टोलीले विभागका महानिर्देशक कुमार दाहाललाई भेटेर वैदेशिक रोजगार क्षेत्रको समसामयिक विषयमा ९ बुँदे मागपत्र बुझाई गहन छलफल गरेको मञ्चको सचिवालय सदस्य सुवर्ण श्रेष्ठले जानकारी दिइन ।

सो अवसरमा नेपाली राजदुताबास नभएको मुलुकमा सोहि मुलुकका चेम्बर अफ कमर्शले मागपत्र प्रमाणीकरण गरेर सम्बन्धित रोजगारदाता कम्पनिको डोमेनबाट बिभागमा ईमेलमार्फत सक्कल मागपत्र पठाएमा विभागले पूर्व स्वीकृति दिने जनाएको मञ्चका संयोजक भान्तनाले जानकारी दिएका छन ।

यस्तै साइप्रसको रोकिएर बसेको पूर्व स्वीकृति तत्काल सुचारु गर्ने र अख्तियारी पत्रको म्याद सकिएको हकमा गन्तव्य मुलुकस्थित राजदुतावासबाट प्रमाणित भई पुनः अख्तियारी पत्रको सक्कल प्रति आएमा पूर्ववत मागपत्र यथावत रही काम गर्न मिल्ने व्यवस्था मिलाउने महानिर्देशक दाहालको भनाई उदृत गर्दै मञ्चका संयोजक भान्तनाले बताए ।

यस्तै कोभिड–१९ का कारण कामदार पठाउन नसक्दा अवधि समाप्त हुन लागेका पूर्वस्वीकृतीको म्याद १ वर्ष थप गर्नुपर्ने, कोभिड–१९ का कारण रोजगार गुमाई नेपाल फर्किने श्रमिकहरुको सम्बन्धमा उजुरी वा गुनासोहरुको सुनुवाईका लागि व्यवसायीहरुको समेत प्रतिनिधित्व हुने गरी छुट्टै समिति बनाउन र मेनपावर कम्पनी, रोजगारदाता तथा श्रमिकको गल्ति नै नभई कोभिड १९ का कारण स्वदेश फर्किएका श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट राहत उपलब्ध गराउन तथा आफ्नै कारणले फर्किएका श्रमिकलाई स्वयं जिम्मेवार बनाउन पनि मञ्चले माग गरेको छ ।

यस्तै मञ्चले वैदेशिक रोजगार विभागले शुरु गरेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली झन्झटरहित बनाउन,  गन्तव्य मुलुक पुगेको अवस्थामा कालो सूचीमा परेर, मेडिकल अनफिट भएर वा अन्य कारणले ६ महिना भित्र फिर्ता भई आएमा सो कोटा फिर्ता हुने व्यवस्था गर्न पनि मञ्चले विभागसँग माग गरेको छ ।

जापानमा सबै प्रकारका कामदार पठाउने विषयमा सम्पूर्ण व्यवसायीहरुलाई उक्त अवसर दिन तथा कतारमा केहि व्यवसायीहरुले सिन्डीकेट खडा गर्ने प्रयास गरेकोप्रति छानविन गरेर सबै व्यवसायीलाई स्वस्थ ढंगमा काम गर्ने वातावरण बनाउदै विना पूर्वस्वीकृति अन्तर्वार्ता लिनेहरुलाई कडा कारबाही गर्न पनि मञ्चले विभागसमक्ष माग राखेको मञ्चका संयोजक भान्तनाले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *