सन्दर्भ सामाजिक सुरक्षा दिवस : ‘अनाथ र सहाराविहीनको साथमा सरकार छ’- प्रम ओली

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैलाई एक्लो महशुस गर्न नदिने बताउनुभएको छ ।

सामाजिक सुरक्षा दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सरकार साथमा रहेकाले अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने उल्लेख गर्नुभयो ।

अनाथ वा सहाराविहीन हुनु दुःखको कुरा हुने भन्दै प्रधानमन्त्री ओलीले योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरू गरिसकिएको पनि बताउनुभयो ।

समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् भनेरै यस्ता कार्यक्रम लागू गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

सरकार सुशासन र विकास अभियानमा अगाडि लम्किरहेको उहाँको दावी छ । देश र जनताप्रति निष्ठा भएको सरकारले कसैलाई पनि एक्लो नछोड्ने र एक्लो महशुस गर्न नदिने प्रधानमन्त्री ओलीको प्रतिवद्धता छ ।

सरकारले हरेक वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने गरेको छ ।

सन्देशको पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !

आज सामाजिक सुरक्षा दिवस । यस दिवसको अवसरमा म ज्येष्ठ नागरिकदेखि बालबालिकासम्म सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

सामाजिक सुरक्षा मानव जातिको सुरक्षा, मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चित्ताको प्रश्न हो । यससम्बन्धमा मानव जाति सचेत प्राणी भएको हुनाले सदैव चिन्तित रह्यो । तर, उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन । पछि हाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रा र केही हदसम्म आकार लिन थाल्यो ।

विंसं २०५१ सालबाट त्यसबेलाकोे सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिकहरु, एकल महिला, असहाय र अशक्त आदिलाई समेट्ने नीति लियो र लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्तरुप पनि लिन थाल्यो । त्यसले नै सामाजिक सुरक्षाको बहसलाई पनि अगाडि बढायो ।

आज आइपुग्दा हामीले सामाजिक सुरक्षालाई हाम्रो सामाजिक जीवन, राज्य संचालन र समाज संचालनको एउटा अभिन्न अंगका रुपमा बुझिरहेका छौं र तद्अनुसारको व्यवहार गरिरहेका छौं ।

हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर हामीले योगदानमा आधारित सामामजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाकोे पनि सुरुवात गरेका छौं । हामीले यस चेतनाको स्तरोन्नतिलाई नयाँ युगको प्रारम्भ पनि भन्यौं । एउटा नयाँ जमानाको सुरुवात, जहाँ कोही पनि व्यक्ति, समाजको कोही पनि सदस्य त्यही उन्नत, विकसित र आधुनिक मानव समाजमा सुरक्षा नपाई असुरक्षित र त्रसित भएर जीवनयापन गर्नु नपरोस् । कसैले पीडा भोग्न र जीवन गुमाउन नपरोस् । तसर्थः हामीले सामाजिक सुरक्षाको सुनिश्चिताको व्यवस्थाका प्रयासहरुलाई अगाडि बढायौं । हामीले यस सम्बन्धमा थुप्रै प्र्रयासहरु अगाडि बढाएका छौं, जो यहाँहरुमा जगजाहेर नै छ । र, सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले संचालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको कुरा म यहाँहरुलाई अवगत गराउँन चाहन्छु ।

अब कसैले अनाथ भएँ भन्नुपर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन । मेरोे रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यस निम्ति राज्य छ र सरकार छ ।

यो सरकार जनताको सरकार, सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिडेको सरकार, सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार, देश र जनताप्रति निष्ठा र प्र्रतिवद्धता भएको सरकार हो । यस सरकारले कसैलाई पनि एक्लो र असहाय छाड्दैन । म यस दिनको अवसरमा कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्दछु । यस अवसरमा म सबै दाजुभाइ दिदीबहिनीहरुमा सामाजिक सुरक्षा दिवसको सन्दर्भमा हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।

धन्यवाद !
११ मंसिर २०७७

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *