नेपाली दूतावास कतारद्धारा मेनपावरको काम !

प्रमाणित भए कारवाही गर्छु : राजदूत भारद्वाज
news-details

विदेशमा रहेका नेपाली दूतावासहरुले कुटनैतिक सम्बन्ध सुमधुर बनाउनुका साथै त्यहाँ रहेका नेपालीहरुको सेवामा काम गर्नुपर्ने हो । तर, नेपाली दूतावास कतारले मेनपावरको मार्केटिङको काम गर्ने गरेको सुचना चुहिएपछि अहिले तरंग मच्चिएको छ ।

कतारमा रहेका केही ठूला कम्पनीहरुमा मागपत्र बनाउँदा दूतावासमा सम्पर्क गर्न र दूतावासले भनेका नेपाली मेनपावरहरुलाई मात्र प्रदान गर्न दूतावासबाट टेलिफोन जाने गरेको पाइएको हो । दूतावासको टेलिफोन नम्बरबाट कतारका कम्पनीका एचआर मेनेजरलाई फोन गरी मागपत्रका बारेमा सोधखोज गर्नुका साथै दूतावासमा बोलाएर गोप्य सल्लाह गर्न निमन्त्रणा दिने गरिएको केहि कम्पनीका एचआर मेनेजरले बताएका छन ।

‘केही दिन अगाडि नेपाली दूतावासबाट फोन आएको थियो, कम्पनीमा नेपाली कामदारको माग कति छ भनेर सोध्दै यसका लागि दूतावासमा आएर सल्लाह गर्नुपर्छ भनेर बोलाउनु भयो’ कतारको यूसीसी कम्पनीका एचआर मेनेजर रायदाले बताए । उनले आजसम्म दूतावासबाट यसरी फोन नआएकोमा एक्कासी माग सोध्दै सल्लाहका लागि बोलाइएपछि आफुलाई आश्चर्य लागेको बताए ।

कतारले नयाँ कामदारका लागि भिसा खुल्ला गरेपछि कतारमा कामदारको माग धेरै छ । कतारका कम्पनीहरुले नेपाली कामदार मन पराउने भएकाले उनीहरुको छनौटमा नेपाली पर्ने गरेका छन् । नेपाली दूतावासले कतारमा रहेका उत्कृष्ट ५० वटा कम्पनी छनौट गरेर मागपत्रका बारेमा फोन हान्ने गरेको स्रोतले बताएको छ ।

कतारमा नै रहेको हस्नेस्को ट्रेनिङ एण्ड कन्ट्राक्टिङ कम्पनीका एचआर मेनेजर अब्दुल्ला मुसाले पनि नेपाली दूतावासबाट फोन गरेर नेपालीको मागपत्र नेपालका केही मेनपावरलाई दिन सुझाएको बताएका छन् । ‘दूतावासको नम्बरबाट फोन आएको थियो र मागपत्रका बारेमा दूतावासमा आउन भनियो’ मुसाले भने ।

दूतावासबाट दिनहुँ कतारमा रहेका कम्पनीमा फोन हानेर मागपत्रका बारेमा खोजीनीति हुन थालेपछि नेपालमा रहेका मेनपावरहरुमा खैलाबैला मच्चिएको छ । नियमित कामदार पठाइरहेका मेनपावरहरुलाई त्यहाँका कम्पनीहरुले दूतावासबाट आतंक हुन थालेको बताइरहेका छन् । ‘दूतावासले नै मेनपावरको झै मार्केटिङ गर्ने र मागपत्रका बारेमा सिफारिस गर्ने हो भने हाम्रो लाइसेन्स फिर्ता लिए हुन्छ’ एक मेनपावर व्यवसायीले बताए ।

कतारस्थित नेपाली राजदूत डा.नारदनाथ भारद्वाजले दूतावासबाट कसैले त्यसरी फोन गरेको पाइएको खण्डमा तत्काल कारवाही गर्ने बताए । ‘दूतावासले मागपत्रका बारेमा कुनै पनि हस्तक्षेप वा चासो राख्दैन तर कुनै कर्मचारीले गरेको रहेछ भने त्यो अपराध हो, म तत्काल कारवाही गर्छु’ राजदूत भारद्वाजले भने ।

दूतावासले मागपत्र प्रमाणिकरण थालिसकेको जानकारी दिदै राजदूत भारद्वाजले भने–‘हामीले मागपत्र प्रमाणिकरणका लागि ७/८ वटा क्राइटएरिया हेर्छौ, सबै पास भए मात्र प्रमाणिकरण गर्छौ ।’

कतारका कम्पनीहरुमा दूतावासबाट फोन गरेको समय, टेलिफोन नम्बर वा नाम भए प्रमाण दिन राजदूतले आग्रह गरेका छन् । दूतावासको नाम दुरुपयोग गरेर कसैले बदनाम गरेको हुन सक्ने उनको आशंका छ । यद्यपी राजदूतले दूतावासमा आकस्मिक वैठक राखि यस विषयमा छानविन थाल्ने आश्वाशन दिएका छन् ।

यता नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा पनि केही व्यवसायीहरुले कतार रोजगारीका बारेमा दूतावासले गरेको कामका बारेमा मौखिक उजुरी गरेको महासचिव सुजित श्रेष्ठले जानकारी दिएका छन् । ‘प्रमाणसहित उजुरी दिन भनेको छु, संघले यस्तो कार्यको पर्दाफास गर्छ’ महासचिव श्रेष्ठले भने । साउदीस्थित नेपाली दूतावासले पनि मागपत्र सिफिारिसमा चलखेल गरेको जानकारी व्यवसायीहरुले गरेको महासचिव श्रेष्ठले बताए ।

नेपालीहरुको सेवामा बसेका सरकारी कर्मचारीहरुबाट नै विचौलियाको काम हुन थाल्यो भने भोलिका दिनमा धेरै नेपालीले दुःख पाउने छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *