सरकारलाई आन्तरिक रोजगारी प्रबर्द्धनमा जोड दिन सुझाव

news-details

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई दीर्घकालीन बनाउँदै सरकारले आन्तरिक रोजगारी प्रबर्द्धनमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा बुधबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘नेपालमा वैदेशिक रोजगारीका अवसर’ विषयक भर्चुअल कायक्रममा बोल्दै सरोकारवालाहरुले देशभित्र आन्तरिक रोजगारी प्रवद्र्धनका लागि प्रधानमन्त्री रोजगार कायक्रमलाई दीर्घकालीन बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै कानुनविद् निलाम्बर बडालले प्रधानमन्त्री रोजगार कार्यक्रमसँग सन्तुष्ट हुन सक्ने अबस्था नरहेको स्पष्ट पारे । ‘हामीले स्थानीय निकायहरुलाई रोजगारीको अबस्थाको बारेमा लगत संकलन गर्ने जिम्मेवारी दिएका थियौँ । त्यो लगत उहाँहरुले कत्तिको संकलन गर्नुभयो एकचोटी फलोअप गर्नुपथ्र्यो,’ विज्ञ बडालले भने, ‘त्यो लगत संकलनका क्रममा हामीले के पनि भनेका थियौँ भने विदेशबाट काम गरेर फर्किएर आउनु भएकाहरुले ल्याउनु भएको सीप, पुँजी र ज्ञानबारे पनि तथ्यांक राख्ने भन्ने थियो ।’

प्रधानमन्त्री रोजगार कार्यक्रम तत्काल जहाँजहाँ आबश्यक छ त्यहाँ व्यवस्थित तरिकाले सञ्चालन गर्न सके दीर्घकालीन हुने भन्दै विज्ञ बडालले देशमा रहेका तथा विदेशबाट फर्किएका भनेर भेदभाव नगरी आबश्यकता अनुसार कार्यक्रममा युवाहरुलाई आबद्ध गराउनु पर्ने बताए । नेपालमा कार्यरत करिब ५ लाख भारतीय श्रमिकहरु भारत फर्किएको सन्दर्भ कोटयाउदै बडालले उनीहरुको स्थानमा नेपाली श्रमिकहरुलाई प्रतिस्थापन गर्न सक्ने अबसर रहेको बताए ।

कार्यक्रममा बोल्दै आमकाश नेपालकी प्रमुख विजया राई (श्रेष्ठ) ले कोरोना महामारीका कारण ठूलो संख्यामा वैदेशिक रोजगारीमा रहेका महिला श्रमिकहरु रोजगारी गुमाएर स्वदेश फर्किएको र यसरी फर्किएका महिला श्रमिकहरु प्रधानमन्त्री रोजगार कार्यक्रमसम्म पुग्नै नसकेको बताइन ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रममा यस्ता विदेशबाट फर्किएका महिलाहरुको पहुँच पुग्न सकेको छैन भने ऋण लिएर देशभित्रै स्वरोजगार बन्छु भन्नेहरुले पनि त्यो अवसर पाउनै सकिरहेका छैनन’ उनले भनिन् । देशमा काम गर्दा आधारभूत आबश्यकता पुरा गर्न पुग्ने कमाई नहुने तथा कामको सम्मान पनि नहुने प्रवृतिका कारण कतिपय युवाहरु वैदेशिक रोजगारीमै फर्कने अबस्था रहेको उनले उल्लेख गरिन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक सुमन घिमिरेले प्रधानमन्त्री रोजगार कार्यक्रम राज्यले कुन उद्देश्यका साथ सञ्चालन गर्यो भन्ने विषय बुझ्न आबश्यक रहेको बताए ।
‘हजारौँ बेरोजगार मध्ये विपन्न बेरोजगारलाई मात्रै रोजगारी ग्यारेन्टी गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको हो’ घिमिरेले भने –‘रोजगारी सिर्जना गर्ने अन्य धेरै कार्यक्रमहरु रहेका छन । सबै कार्यक्रम खारेज गरेर यो कार्यक्रम ल्याइएको नभई न्यूनतम रोजगारीको प्रत्याभूति गर्न नसकेका वर्गलाई रोजगारीमा जोडने प्रयत्न गरिएको हो ।’

आन्तरिक रोजगारी सिर्जनाको अवधारणासहित ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र विस्तार गरिएको उनको भनाई थियो । सोही रोजगार सेवा केन्द्रमार्फत न्युनतम रोजगारीसम्म पनि नपाएर मर्नु न बाँच्नुको अबस्थासम्म पुगेकाहरुलाई न्यूनतम १०० दिनको रोजगारी ग्यारेन्टी गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको घिमिरेले जिकीर गरे ।

‘आज ६ लाख ६७ हजार म बेरोजगार छु मलाई काम दिनुस् भन्नेहरुको तथ्यांक रोजगार सूचना व्यवस्थापन प्रणालीमा राखिएको छ । अब कोसँग के सीप छ । कसलाई कस्तो रोजगारीको आबश्यकता छ सोही अनुसार रोजगारी उपलब्ध गराउन अन्तर मन्त्रालय तथा सम्बन्धीत सरोकारवालाहरुसँग समन्वय गरिरहेका छौँ,’ कार्यक्रममार्फत उनले भने ।

अहिले वनमन्त्रालयसँग मिलेर २५ हजारलाई तालिम दिने गरी छलफल गरिरहेको भन्दै घिमिरेले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनशील बनाउन जोड दिइरहेको जिकीर गरे । उनले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित बनाउन लागिरहेको बताउँदै भारतमा जाने नेपाली श्रमिकहरुको तथ्यांक राख्ने कुरामा पनि जोड दिईरहेको बताए ।

त्यस्तै विदेशबाट फर्किएका श्रमिकहरुको सीप प्रमाणीकरण तथा सहुलियतपूण कर्जा प्रवाहमार्फत उनीहरुलाई स्वरोजगार बनाउन सरकारले जोड दिएको उनको भनाई थियो । त्यस्तै विदेशबाट फर्किएका १० हजार युवालाई पुर्नएकीकरण गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *