नेपाल र इजरायलबीच श्रम बजार खुलाउने र कृषि केन्द्र स्थापना गर्ने सम्झौता

news-details

ईजरायलको श्रम बजारमा नेपाली कामदारलाई लैजाने र नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन कृषि केन्द्र स्थापना गर्ने गरी नेपाल र इजरायलबीच सम्झौता सम्पन्न भएको छ ।

इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच सो समझदारीपत्रमा नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत डा अन्जान शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गाबी अश्कानजीले हस्ताक्षर गरेका हुन ।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तिब्रता पाउने अपेक्षा गरिएको छ भने पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाको विदेशिने क्रममा समेत कमी आउने विश्वास लिइएको छ ।

यस्तै विगतदेखि नै नेपाल र इजरायलबीच नेपाली श्रमिकलाई इजरायल रोजगारीमा लैजाने गरी भएको छलफल अनुसार नेपाल र ईजरायलबीच “ईजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता” मा हस्ताक्षर भएको हो । योसँगै इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ ।

यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल र रेष्टुरेन्ट, निर्माण लगायतका क्षेत्रमा नेपालीले रोजगारीको अवसर पाउने छन् । यद्यपि, प्रत्येक क्षेत्रका लागि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुनेछ ।

यसअघि नै विभिन्न चरणमा छलफल भई सहमति समेत भइसकेकोले पहिलो क्षेत्रका रुपमा ईजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयरगिभर ल्याउने सम्बन्धी कार्यान्वयन प्रोटोकलमा छिट्टै सम्झौता हुन लागेको दुतावासले बताएको छ ।

नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच सो विषयमा काठमाडौंमा हस्ताक्षर हुने बताइएको छ । साथै उक्त सम्झौता पछि केही महिनाभित्रै पहिलो चरणमा पाँच नेपाली ईजरायल जान पाउनेछन् ।

भेटघाटका क्रममा मन्त्री अश्कानजीले यो महामारी पछि छिटै नेपालका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको इजरायल भ्रमण हुने विश्वास व्यक्त गर्दै नेपालीहरुको कोमलपन र सहनशीलतालाई इजरायलीहरुले मन पराउने गरेको र यसले सधैं आफुलाई नेपाल जान प्रेरित गर्ने गरेको बताए ।

यसै सन्दर्भमा राजदूत डा शाक्यले नेपाल र इजरायलबीच उच्चस्तरीय भ्रमण तथा सिधा हवाई उडानको आवश्यकता औंल्याइन । इजरायल नेपालको पुरानो मित्र रहेको स्मरण गर्दै राजदूत डा शाक्यले आगामी दिनमा दुई देशबीच थप सघन सहकार्य हुने अपेक्षा व्यक्त गरिन ।

राजदूत डा शाक्यले दक्ष तथा अर्धदक्ष नेपाली श्रमिकहरुका लागि इजरायलको कृषि, निर्माण लगायतका रोजगारीका क्षेत्रहरु पनि खुला गर्न मन्त्रीसमक्ष आग्रह गर्दै विभिन्न विधामा विधार्थीहरुका लागि छात्रवृत्ति प्रदान, स्वास्थ्य, शिक्षा, उर्जा,पर्यटन, उद्यमशीलता विकास, विज्ञान तथा प्रविधि क्षेत्रमा सहकार्य गर्नुपर्ने विषयमा पनि जोड दिइन । इजरायली परराष्ट्र मन्त्री नेपालसँग सहकार्य गर्न अत्यन्तै ईच्छुक रेको दूतावासले बताएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *