सरकारले उडान कन्ट्रोल नगरी नियमित उडानलाई बढाउँछ : मन्त्री भट्टराई

news-details

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अब अन्तर्राष्ट्रिय उडानलाई सरकारले नियन्त्रण नगर्ने र नियमित उडान बढाउँदै लैजाने बताएका छन् ।

वैदेशिक रोजगार पत्रकार समाजले बुधबार आयोजना गरेको वेविनार कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नियमित उडानलाई सरकारले प्रोत्साहन दिने र विगतमा उडान संख्या अत्यधिक कटौती भएका कारण हवाई भाडा महंगो भएकोमा अब त्यो समस्या नरहने बताएका छन् ।

‘सरकारले उडान कन्ट्रोल नगरी नियमित उडानलाई बढाउँछ जसले गर्दा हवाई भाडा स्वत घट्दै जानेछ’ कार्यक्रममा मन्त्री भट्टराईले भने –‘हाम्रो उडान संख्या बढ्दै गएको पनि छ, अहिले दैनिक १२ देखि १५ वटासम्म उडान हुन थालेका छन्, अब अक्टोबरदेखि अझ उडान थपेर चार्टर फ्लाइट भन्दा पनि नियमित फ्लाइटको बाटोमा हामी जाँदैछौं ।’ कतिपय मुलुकमा अझै उडानहरु खुल्ला हुन नसक्दा तथा उडान कटौती हुदा हवाई भाडा महंगो हुनु स्वभाविक भएको मन्त्री भट्टराईको भनाइ छ ।

मन्त्री भट्टराई भन्छन्, –‘उडान संख्या कटौतीको चौतर्फी प्रभाव छ, यात्रुहरुले समयमा उड्न पाउनु भएको छैन, भनेको समयमा टिकट पाउनु भएको छैन, उता अझ भनौं टिकटहरु ब्ल्याकमा महँगोमा पनि बिक्री भइरहेको होला ।’ उनले अब नियमित उडान थपिदै जादा यी समस्या आफै हटेर जाने बताए ।

कार्यक्रममा मन्त्री भट्टराईले अहिले परिस्थिति एकदमै प्रतिकुल भएकाले आरोप–प्रत्यारोप गर्नुभन्दा पनि सबै मिलेर सहयोगात्मक सम्बन्ध राख्दै अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले भने ‘अब कोरोना भाइरससँग भागेर, डराएर तर्सिएरभन्दा पनि यसको आमुन्ने सामुन्ने रहेर जुध्न आवश्यकता भइसकेको छ ।’

अब विश्वका जुनसुकै कुनामा रहेका नेपालीहरू पनि ७२ घण्टाभित्रको पिसीआर परीक्षणको नेगेटिभ रिपोर्ट पेश गरेर स्वदेश फर्कन सक्ने कार्यक्रममा मन्त्री भट्टराईले जानकारी दिए ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले सबैको समन्वय हुने हो भने सस्तोमा नेपालीहरु स्वदेश फर्काउन सकिने बताइन् । उनले भनिन्–‘ओमानको दूतावासले पहल गरेर सस्तोमा नेपालीहरु फर्काउन सक्यो भने नेपाल सरकारले नै पहल गर्ने हो भने अझ सस्तो भाडा बनाउन सकिन्छ ।’

विदेशमा रहेका नेपाली दूतावासले आफ्ना नेपाली कामदारको अधिकार तथा स्वदेश फिर्तीका लागि अहोरात्र काम गरिरहेको जानकारी राजदूत ढकालले दिइन् ।

वैदेशिक रोजगार पत्रकार समाजले श्रीखलाबद्ध समसामयिक विषयमा वेविनार कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *