नेपालमा प्रतिवर्ष ४ लाखको हाराहारीमा नेपालीले रोजगारी पाएको विश्व बैंकको तथ्याङ्क

news-details

सरकारले हरेक वर्ष सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा स्वदेशमै रोजगारी सिर्जना गर्ने कुरालाई प्राथमिकतामा राखेको हुन्छ । तर वैदेशिक रोजागरीमा जानेहरुको संख्यामा कमी आएको छैन । विश्व बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले भने हरेक बर्ष लगभग ४ लाख नेपालीले रोजारी पाएको देखाएको छ ।

नेपालमा पछिल्लो १० वर्षमा ४० लाख रोजगारी सिर्जना भएको एक अध्ययनले देखाएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको ‘नेपाल जब डाइग्नोस्टिक रिपोर्ट’ नामक प्रतिवेदन अनुसार नेपालको अर्थतन्त्रले गएको एक दशकमा चालिस लाख जनालाई नयाँ रोजगारी दिएको छ । प्रतिवेदन सन् २००८ देखि २०१८ सम्मको अवधिको अध्ययनमा आधारित छ ।

अध्ययनका सुरूका वर्षहरूमा सबैभन्दा बढी व्यक्ति कृषिमा संलग्न रहने गरेकोमा सन् २०१८ मा आएर सेवा क्षेत्रमा संलग्नताको संख्या बढ्दै गएको देखिन्छ । अझ रोजगारी पाएका मध्ये अनौपचारिक क्षेत्रमा ६० प्रतिशत रहेका छन् । यसले कृषिमा आधारित रहँदै आएको अर्थतन्त्र क्रमशः आधुनिक सेवा तर्फ उन्मुख हुँदै गएको देखाउँछ। गएको दशकमा नेपालको अर्थतन्त्रको संरचनात्मक परिवर्तन भएको र यसले श्रमशक्तिका लागि राम्रो अवसर सिर्जना गरेको प्रतिवेदनले उल्लेख गरेको छ ।

तर राम्रो आयआर्जन हुने सबैखाले रोजगारीको अवसरमा भने पुरुषहरुकै बाहुल्य देखिन्छ । निर्माण, उत्पादन, उद्योग, यातायात, व्यापार जस्ता क्षेत्रमात्र होइन वैदेशिक रोजगारीमा समेत पुरुष कामदारले नै बढी अवसर पाएको देखिन्छ ।

अधिकांश महिलाहरु अनौपचारिक क्षेत्रमा र ज्याला नपाउने काममा संलग्न रहेको अध्ययनले देखाएको छ । तर पहिलेको तुलनामा महिलाले पनि सेवा क्षेत्रमा आफ्नो पहिचान बढाउदै गएको देखिन्छ । सन् २००८ मा रोजगारीको कूल १७ प्रतिशत मात्र हिस्सा ओगटेका महिलाहरुले सन् २०१८ मा २४ प्रतिशत हिस्सा ओगट्न पुगेको देखिन्छ ।

प्रतिवेदन हालै सार्वजनिक गरिएको र यसमा महामारी पछिको पुनर्स्थापनामा स्थायित्व सहितको सुरक्षित रोजगारीमा जोड दिइएको भएपनि कोभिड–१९ का कारण उत्पन्न आर्थिक गतिरोध र रोजगारी गुमिरहेको सम्बन्धमा भने केही उल्लेख छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *