कोरियामा भिसा अवधि सकिएका आप्रवासीको अवधि थप हुने, थपिएको समयमा काम पनि गर्न पाइने

news-details

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत आएर आफ्नो मुलुकमा कार्यरत भिसा अवधि सकिएका आप्रवासी कामदारलाई दक्षिण कोरिया सरकारले भिसा थप गरिदिने भएको छ । सरकारका अनुसार त्यस्ता कामदारहरूले भिसा अवधि थप भएको समयमा समेत काम गर्न पाउनेछन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण भिसा सकिएर स्वदेश फर्कन नपाएका आप्रवासीहरुको सहजताका लागि यो नियम ल्याइएको कोरिया सरकारले जनाएको छ ।

कोरियाली प्रधानमन्त्री चुङ से क्युनले बुधबार विपद् व्यवस्थापनको बैठकमा बोल्दै नयाँ नियमबारे बताएका हुन् । उनले कोरियाको धेरै गाउँका कृषि फार्महरूमा कामदारको अभाव रहेकाले सरकारले नयाँ नियम ल्याउन लागेको पनि जनाए ।

यसअघि पनि कोरिया सरकारले भिसा अवधि सकिएका कामदारको भिसा थप गरिदिए पनि यसरी थपिएको भिसा अवधिमा कामदारलाई काम गर्ने अनुमति दिएको थिएन । अब भने यसरी अवधि थप भएका आप्रवासीले थप भएको समयावधीमा पनि काम गर्न पाउने भएका छन ।

कोरियाली सरकारको निर्णयसँगै १६ देशबाट ईपीएसमार्फत कोरिया आएर कार्य अवधि सकेका ४० हजारभन्दा बढी कामदार लाभान्वित हुनेछन् । हाल दक्षिण कोरियामा ५ हजारभन्दा बढी नेपालीको भिसा अवधि सकिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *