वैदेशिक रोजगारमा जानेको संख्यामा व्यापक गिरावट, गत आर्थिक वर्ष २७.५९ प्रतिशतले घट्यो
- रोजगारमञ्च
- साउन ५, २०७७
- 0

भर्खरै सम्पन्न आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा व्यापक गिरावट आएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६/७७ मा विदेशिने नेपालीको संख्या २७.५९ प्रतिशतले घटेको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ५ लाख ८ हजार ८०२ जनाले श्रम स्वीकृति लिएर विदेशिएकोमा आर्थिक वर्ष २०७६/७७ मा ३ लाख ६८ हजार ४३३ जनाले मात्र विदेशिन श्रम स्वीकृति लिएका छन् । जसमध्ये पनि धेरैजसो नेपाली पछिल्लो समयको परिस्थितिका कारण श्रम स्वीकृति लिएर पनि उडन सकेका छैनन ।
यस आर्थिक वर्षमा नेपालीहरुको प्रमुख गन्तव्य रहेको यूएईका लागि ९३ हजार ४२४ जना, साउदी अरबका लागि ८२ हजार १६३ जना, कतारका लागि ८१ हजार ५६७ जना, मलेसियाका लागि ५९ हजार ७१४ जना, कुवेतका लागि १६ हजार ८६२ जना, बहराइनका लागि ६ हजार १८९ जना, ओमानका लागि ४ हजार १३९ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।
लामो समय मलेसिया रोजगारी बन्द हुदा (गत कात्तिकमा खुल्ला गरिएपनि पूर्ववतरुपमा सुचारु हुन नसकेको) र खाडीमा कामदारको मागमा कमि आउदा विदेशिनेको संख्या निरन्तर घटिरहदा सरकारले कोरोना भाइरसको कारण श्रम स्वीकृति स्थगन र अन्तर्राष्ट्रिय उडान बन्द गर्दा यस आर्थिक वर्षको पछिल्लो ४ महिना वैदेशिक रोजगारको क्षेत्रनै ठप्प बनेको थियो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल यो वर्ष श्रम स्वीकृति लिनेको संख्या अघिल्ला वर्षभन्दा घट्नु स्वाभाविक भएको बताउछन । ‘गत आर्थिक वर्षको पछिल्लो चार महिना त श्रम स्वीकृति र अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द नै छ, यो अवस्थामा श्रम स्वीकृति लिनेको संख्या घटनु स्वभाविक हो’ दाहालले भने ।
विदेशिनेको संख्या घटदा र विभिन्न समस्याका कारण कामदार विदेश उडाउन नसक्दा यस आर्थिक वर्षमा अघिकांश मेनपावर कम्पनी झण्डै नविकरण नहुने अवस्थामा पुगिसकेका थिए । नविकरणका लागि एक आर्थिक वर्षमा १ सय जना कामदार पठाउनैपर्ने प्रावधान पु¥याउन नसक्दा अधिकांश मेनपावर खारेज हुने अवस्थामा पुगेपछि व्यवसायीहरुको माग अनुसार सरकारले यो प्रावधान तत्कालका लागि हटाएर आगामी आर्थिक वर्षमा २ सय जना कामदार पठाउनुपर्ने व्यवस्था गरेको छ । तथापी यही अवस्था कायम रहे आगामी वर्ष पनि अधिकांश मेनपावरले त्यती संख्यामा कामदार उडाउन सक्ने संभावना भने देखिदैन ।