विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गर्ने सरकारको निर्णय, अर्को साताबाट ल्याउन सुरु गरिने

news-details

सरकारले वैदेशिक रोजगारीको क्षेत्रमा कोरोना संक्रमणका कारण अफ्ठयारामा परेका नेपालीलाई उद्धार गरी स्वदेश ल्याउने निर्णय गरेको छ । हिजो मात्र बजेट प्रस्तुत गर्ने क्रममा त्यस्ता नेपालीलाई उद्धार गरी स्वदेश ल्याउन बजेट विनियोजन गर्ने घोषणा गरिएको थियो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले प्राथमिकताका आधारमा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गर्दै त्यस सम्बन्धी विस्तृत कार्ययोजना पारित गरेको हो ।

अब परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण संकलन गर्ने काम थाल्ने र सोही अनुसार उनीहरुलाई प्राथमिकताका आधारमा अर्को साताबाट  स्वदेश फर्काउने काम सुरु हुने समितिका एक सदस्यले जानकारी दिएका छन ।

उनीहरुलाई स्वदेश फर्किएपछि कम्तिमा २ हप्ता क्वारेन्टाइनमा राखेर परीक्षण पश्चात मात्र घर जान दिइने बताइएको छ । जसका लागि खर्चविहिनहरुको क्वारेन्टाइन व्यवस्था सरकारले गर्ने र अन्यको आफै खर्च व्योहोर्ने गरी व्यवस्था गरिने बताइएको छ ।

विदेशबाट उद्धार गरी ल्याइएका नागरिकलाई प्रदेशगत रुपमा छुट्याएर क्वारेन्टाइनमा राखी घर पठाउन सातै प्रदेशमा एक-एक जना संघीय सरकारका मन्त्रीलाई जिम्मा दिइएको छ ।

जसका लागि सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङलाई, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय यादवलाई, बागमती प्रदेशमा महिला वालवालिकामन्त्री पार्वत गुरुङलाई, गण्डकी प्रदेशमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुनलाई,कर्णालीमा वनमन्त्री शक्ति बस्नेतलाई र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टलाई संयोजनको जिम्मेवारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *