कोरोनाको प्रभाव :  मेनपावर व्यवसायीको अर्बौको लगानी डुब्दै (प्रतिवेदनसहित)

news-details

कोरोना भाइरस (कोभिड–१९) का कारण अन्य व्यवसायको क्षेत्र जस्तै वैदेशिक रोजगार व्यवसाय पनि पूर्णरुपमा बन्द भएपछि यसले समग्र व्यवसाय, रोजगारी र आर्थिक पक्षमा पार्ने प्रभाव तथा यसको समाधानको उपाय समेटेर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो धारणासहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।

संघका महासचिव सुजित कुमार श्रेष्ठले तयार पारेको उक्त प्रतिवेदनमा कोभिड १९ का कारण मेनपावर व्यवसायीहरुको अर्बौ लगानी डुब्ने जनाइएको छ । अहिले संचालनमा रहेका ८ सय ५३ मेनपावर संस्था बन्द हुँदा व्यवसायीले राखेको धरौटी रकम ४ अर्ब ३१ करोड र वैंक ग्यारेण्टी अन्तर्गतको १२ अर्ब ८६ करोड डुब्ने अवस्थामा पुगेको उल्लेख गरेका छन् । व्यवसाय संचालानार्थ गरेको करोडौको लेखाजोखा ठूलो रहेको संघको भनाई छ ।

८ सय ५३ मेनपावर कार्यालयका साथै २७ वटा शाखा कार्यालयका साथै आश्रित लाखौ कामदार प्रत्यक्ष मारमा परेको संघका महासचिव श्रेष्ठले जानकारी दिए ।

तत्काल वैदेशिक रोजगार व्यवसायको क्षेत्रबारे सरकारले नसोच्ने हो भने यो व्यवसाय नै बन्द हुने खतरा बढेको उल्लेख गरेका छन् । महामारीले समग्र रोजगारीको क्षेत्र तथा मुलुकको आर्थिक गतिविधीमा पार्ने प्रभाव ज्यादै भयाभह हुन सक्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

कोरोना संक्रमणका कारण मेनपावर कम्पनी बन्द हुँदा वैदेशिक रोजगार व्यवसायीले भोग्नुपरेका समस्या, यस व्यवसायसँग आश्रित अन्य पेशा व्यवसाय माथि पर्ने प्रभाव, स्वदेशमा तथा रोजगारदाता मुलुकमा अवसरहरु संकुचित हुदै जाँदा बढ्न जाने वेरोजगारीको खतरा, विप्रेषणको आप्रवाहमा कमी आउँदा अर्थतन्त्रमा पर्नसक्ने प्रभावलगायतका विषय औल्याउदै त्यसको समाधानमा सरकारले गर्नसक्ने पहलका विषय प्रतिबेदनमा उल्लेख छ ।

उता विदेशबाट फर्किएकाहरु तथा यस व्यवसायमा रोजगारी गरिरहेका लाखौ युवाहरुको व्यवस्थापन सरकारका लागि अर्को चुनौती हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा अहिलेको अवस्था लामोसमयसम्म जाने खतरा बढीरहेको भन्दै वैदेशिक रोजगार व्यवसायीले जम्मा गरेको धरौटी रकम फिर्ता दिएर व्यवसाय संचालनसँगै उत्पादनशिल क्षेत्रमा उक्त रकम लगाउन प्रोत्साहित गर्ने, कृषि, सेवालगायतका व्यवसाय गर्न सहूलियतपूर्ण ऋणको व्यवस्था गर्न सकिने र यसो गर्न सके प्रशस्त रोजगारी पनि सिर्जना हुने उल्लेख गरिएको छ ।

यस्तै विदेशबाट फर्किएका युवाहरुलाई सीप र क्षमता अनुसारको रोजगारी कसरी दिन सकिन्छ, स्वरोजगार कसरी बनाउन सकिन्छ भन्नेतर्फ सरकार तत्काल लाग्नसके तथा राष्ट्रिय गौरवका आयोजनासहित निर्माण व्यवसायको क्षेत्रलाई तिब्र गतिमा अघि बढाउन सकिए धेरै हदसम्म बेरोजगारी समस्या समाधान हुन सक्ने भन्दै मेनपावर कम्पनीको दायरालाई बढाएर वैदेशिक रोजगारीसँगै स्वदेशी श्रम बजारमा पनि दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिमा लगाउन सकिने सुझाव प्रतिवेदनमा दिइएको छ ।

हेर्नुहोस प्रतिवेदनको पूर्णपाठ

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *