‘सरकारले व्यवसायी र कामदारको अविभावकत्व निभाउनुुपर्छ’ : नरेन्द्र प्रसाद ढकाल

news-details

कोरोना भाइरस (कोभिड–१९)ले विश्वव्यापी महामारीको रुप लिइरहदा यसले विश्व अर्थतन्त्रलाई नै धरासायी बनाइरहेको छ । यसको प्रत्यक्ष प्रभाव पर्यटन, व्यापार–व्यवसाय, उद्योगधन्दा, रोजगारी लगायतको क्षेत्रसँगै रेमिट्यान्समा आधारित अर्थतन्त्र तथा विदेशी मुलुकहरुसँगको परनिर्भरतामा टिकेको नेपालमा देखिन थालिसकेको छ । अहिले प्राय मुलुकसँगै नेपाल पनि लकडाउनमा छ । एक मुलुकबाट अर्को मुलुकबीचको आवतजावत रोकिदा यसको सिधै असर वैदेशिक रोजगारीको क्षेत्रमा पनि पर्न पुगेको छ ।

भर्खरै मात्र नेपाली कांग्रेसमा आस्था राख्ने वैदेशिक रोजगार व्यवसायीहरुको सुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले विदेशमा कार्यरत नेपालीहरुको सुरक्षाका साथै वर्तमान अवस्थाका कारण व्यवसायीहरु नै पलायन हुने खतरा बढेको भन्दै आफुहरुले राखेको धरौटीबाट केहि रकम अवस्था नसुध्रिउन्जेल सम्मका लागि चलाउन दिन सरकारसँग माग गरेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा परेको प्रभाव, व्यवसायी तथा कामदारको हकहितका विषय एवं यसले रोजगारीको अवसरमा पार्न सक्ने असरका विषयमा एशोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालसँग रोजगारमञ्चले गरेको कुराकानी :

कोरोना भाइरसको संक्रमणका कारण देश अहिले लकडाउनमा छ । यो अवस्थामा वैदेशिक रोजगार व्यवसायको क्षेत्र कस्तो परिस्थितीबाट गुज्रिरहेको छ त ?

वैदेशिक रोजगार व्यवसाय चलायमान व्यवसायको क्षेत्र हो । अहिले पनि विभिन्न मुलुकहरुबाट यो विकराल अवस्था अघि प्राप्त भएका भिसाहरु व्यवसायीहरुसँग छन । विमा, मेडिकल, राजश्व तथा प्रक्रियाका लागि जाने कामदारले गरेका खर्च र अर्कोतिर अफिस संचालन, कर्मचारी, प्रवद्र्धन लगायतमा व्यवसायीहरुले गर्नुपरेको खर्च जोडदा ठुलो मात्राको रकम जोखिममा परिरहेको छ । लकडाउनका कारण व्यवसायी र कामदारले गरिसकेको खर्च त जोखिममा छ नै, उता कतिपय व्यवसायीहरु त प्रवद्र्धनका क्रममा रहदा विदेशमा नै थुनिएर बस्नु परिरहेको छ ।

यो अवस्थाले समग्र वैदेशिक रोजगारीको अवसरमा र व्यवसायीहरुलाई कस्तो प्रभाव पारेको छ त ?

अहिलेको अवस्थाले वैदेशिक रोजगार व्यवसाय पूर्णरुपमा धरासायी बन्न पुगेको छ । यसले गर्दा अबको चुनौती भनेको कामदारका हितका साथै यो व्यवसायलाई कसरी बचाउन सकिन्छ र यसलाई कसरी टिकाउन सकिन्छ भन्ने नै हो ।

तपाईहरुले वैदेशिक रोजगारीमा पठाउनुभएका कामदारको अवस्था र समस्याबारे पनि कुनै चासो देखाइरहनुभएको छ त ?

हाम्रो काम भनेकै वैदेशिक रोजगारीका क्षेत्रमा राम्रा र आकर्षक अवसरहरु खोजेर नेपाली कामदार पठाउने हो । हामीले पठाएका कामदार सुरक्षित र सन्तुष्ट हुनु भनेकै हाम्रो सफलता हो । उनीहरु कहाँ र कस्तो अवस्थामा छन, कुनै समस्यामा परेका छन या छैनन भन्नेमा हामी व्यवसायीहरुले निरन्तर बुझने प्रयास गरिरहेका छौ । कुनै पनि व्यवसायीलाई आफुले पठाएको कामदार समस्यामा नपरोस भन्ने नै हुन्छ । यदी समस्या आइहाले उनीहरु कार्यरत कम्पनीसँग छलफल गरेर तथा कुटनैतिक निकायसँग समन्वय गरेर समस्या समाधान गर्नतर्फ लागेका छौ र आगामी दिनमा पनि लागिरहने छौ ।

सरकारसँग वैदेशिक रोजगार व्यवसाय संकटमा पर्न नदिन र कामदारका हकहित, सुरक्षाका निम्ती यहाँहरुको माग के हो ?

सरकार व्यवसायीहरुको अविभावक हो । हामीले आफ्नै व्यक्तिगत पहलमा वैदेशिक रोजगारीका क्षेत्रमा अवसर खोजेर नेपालीहरुलाई पठाइरहेका छौ । अहिलेको सन्दर्भमा भन्नुपर्दा हाम्रो व्यवसाय धरासायी भएको अवस्था छ । झन लकडाउनका कारण कार्यालय संचालन, कर्मचारीको तलब, भाडालगायतका खर्च धान्ने अवस्थामा हामी छैनौ । यसैले सरकारसँग व्यवसायीले राखेको २ करोड धरौटी रकमबाट ५० लाख नगद रुपैया रकम स्थिती सहज हुदा तिर्नेगरी उपलब्ध गराइदिन माग गरेका छौ । २०६२ भदौ १६ को इराक काण्डको बेला पनि सरकारले यसैगरी व्यवसायीहरुलाई धरौटी रकमबाट ५ लाख रकम चलाउन दिएको थियो, त्यही नजिर अनुसार अहिलेको समस्या टार्न पनि सरकारले सहयोग गरोस भन्ने हामी आम व्यवसायीको अपेक्षा छ । साथै सरकारले राहत स्वरुप विभिन्न प्याकेजहरु ल्याएर व्यवसायीलाई र कामदारहरुलाई बचाउने काम गर्नुपर्छ किनकी सम्पूर्ण नेपालीको अविभावक भनेकै नेपाल सरकार हो ।

तपाईहरुले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई यस महामारीबाट जोगाउन कस्तो किसिमको सामाजिक उत्तरदायित्व निभाइरहनुभएको छ ?

हामीले जति पनि कामदार विदेश पठाएका छौ उनीहरुको सुरक्षाका लागि अझ भन्नुपर्दा अहिलेको महामारीबाट बचाउन र संक्रमित भइहाले उपचारका लागि उनीहरु कार्यरत कम्पनीहरुसँग कुराकानी गरिरहेका छौ । यदी उनीहरुबाट सम्भव नहुने अवस्था आएमा हामी आफै वा दूतावासमार्फत समस्या समाधानको पहलका लागि लागिपर्ने छौ । यस्ता समस्यामा परेका कामदारका विवरण संकलन गरी सरकारलाई उपलब्ध गराउन हामीले व्यवसायी साथीहरुलाई समेत भनिसकेका छौ । हामीले समस्या समाधान गर्न नसक्ने अवस्था सकभर नआओस भन्ने हाम्रो चाहना हो यदी त्यस्तो अवस्था आएमा हामीले दूतावाससँगको सहकार्यमा सरकारलाई उद्धारका लागि आग्रह गर्नेछौ ।

वर्तमान परिस्थितीले आगामी दिनमा कस्तो अवस्था सिर्जना गर्ला भन्ने यहाँहरुको ठम्याई छ त ?

यो अवस्था लामो समयसम्म विद्यमान रहयो भने यसले विश्वकै अर्थतन्त्रमा नराम्रो प्रभाव पार्नेछ र यसले भयाभह अवस्था सिर्जना गर्ने देखिन्छ । हाम्रो जस्तो अल्पविकसित र रेमिट्यान्सले धानेको देश झन ठुलो असर झेल्न बाध्य हुनुपर्छ । उता रोजगारदाता मुलुकहरु नै संकटमा परिरहदा रोजगारीका अवसर जसरी पाइरहेका थियौ त्यो आगामी दिनमा कायम रहन्छ भन्न सकिदैन । यसैले यसको समाधान भनेकै अहिले देखिनै विदेशमा काम गरिरहेकाहरुको रोजगारी र प्राप्त हुनसक्ने अवसरहरु जोगाउदै देशमा पनि बढिभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्नमा ध्यान दिइनुपर्छ । यसका लागि वैदेशिक रोजगार व्यवसायीहरुलाई पनि समेटदै भौतिक तथा कृषिको क्षेत्रमा लगानी बढाउन जरुरी छ । हामी व्यवसायीहरुको उद्देश्य नेपालीलाई विदेश पठाउनु मात्र नभएर देशमै रोजगारीका अवसरमा कामदार आपूर्ति गर्न पाइयोस भन्ने पनि हो । यही पनि विभिन्न क्षेत्रमा कामदार उपलब्ध गराउन हामी तयार छौ, यसका लागि सरकारले प्रशस्त अवसर सिर्जना गर्न सक्नुपर्छ । हामीलाई उपयोग गर्दै सरकारले कदम चाल्न सके वैदेशिक रोजगारीमा मात्र नभएर देशमै पनि हाम्रा जनशक्ति उपयोग हुनेछन र यसले कामदार, सरकार र व्यवसायी सबैलाई फाइदा पुग्ने थियो ।

यदी भोली त्यसो हुन सकेन भने मेनपावरमै कार्यरत लाखौ कर्मचारी वेरोजगार हुने खतरा त छदैछ, विदेशबाट फकर्नुपरेमा उनीहरुको व्यवस्थापनदेखि लिएर स्वदेशमै थपिइरहेका जनशक्तिलाई सरकारले रोजगारी दिन नसक्दा झन भयाभह अवस्था सिर्जना हुन सक्छ यसैले अहिले देखिनै यसबारे सोचिनु जरुरी छ ।

अन्त्यमा ….

यो प्राकृतिक विपत हो यसको समाधानका लागि सबै एकजुट भएर लाग्नुपर्छ । अहिले हामीमा चुनौतीसँगै अवसर पनि छ । यसलाई सबै मिलेर सामना गर्दै अवसरमा बदल्न सके भोलीका दिनमा अझ राम्रो अवस्था हामी सिर्जना गर्न सक्छौ । सरकारले पनि यसलाई बुझन जरुरी छ । सरकार, व्यवसायी, कामदार, सामाजिक व्यक्तित्व, संचारकर्मी सबै सकारात्मक सोचका साथ अघि बढन सके यो संभव पनि छ र यसको जिम्मेवारी सरकारले लिनुपर्छ चुनौती सामना गर्ने क्रममा हामी व्यवसायी पनि साथमा छौ भन्ने प्रतिवद्धता हामी दिन चाहन्छौ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *