वैदेशिक रोजगारमा ठग्नेलाई कडाभन्दा कडा सजाय : महानिर्देशक दाहाल
- फणिन्द्र दाहाल
- माघ २७, २०७६
- 0

वैदेशिक रोजगारका नाममा हुने ठगीमा पीडित बनेकालाई न्याय दिलाउन वैदेशिक रोजगार विभागले कुनै कसुर बाँकी नराख्ने नवनियुक्त महानिर्देशक कुमार दाहालले बताएका छन् । गत शुक्रवार मात्र विभागमा आएका महानिर्देशक दाहालले वैदेशिक रोजगारको ठगी गर्नेलाई फौजदारी अभियोग लगाएर कडाभन्दा कडा सजाय दिलाउने बताएका हुन् ।
वैदेशिक रोजगार पत्रकार समाजसँगको भेटघाटमा महानिर्देशक दाहालले वैदेशिक रोजगारका नाममा ठगी गर्ने जोकोहीलाई कारवाहीको दायरामा ल्याउने बताए । उनले भने– वैदेशिक रोजगारको ठगी फौजदारी अभियोगको एकदमै कडा सजाय हुने सेक्टर भित्र पर्छ ।’ वैदेशिक रोजगारका नाममा पठाउने कन्सल्टेन्सी, व्यक्ति पनि अव कानूनी दायरामा ल्याउने महानिर्देशकको भनाई थियो ।
महानिर्देशक दाहालले भने–‘हामीसंग झन्डैझन्डै एक सयदखि डेढ सय मेनपावरका उजुरीहरु छन्,सबै उजुरी गलतै हुन् भन्न पनि सकिदैन, कहिले काँही काम गर्दा समस्या आउँछन् तर मेनपावरले आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्नुपर्छ ।’
महानिर्देशक दाहालले नियमविपरित काम गर्ने मेनपावर पनि कारवाहीको दायरामा ल्याउने बताएका छन् । उनले भने–‘ जसले जिम्मेवारी लिएर कामदारहरु विदेश पठाइरहेका छन् उनीहरुले आफ्नो कोड अफ कन्डक्ट चाँहि पालाना गरेनन् भने पक्कै दण्डको दायराभित्र पर्दछन् उम्किने कुनै सम्भावनै छैन ।’
महानिर्देशक दाहालले मेनपावर कम्पनीलाई धेरै कानूनी दायरामा ल्याइसकिएकोले अव सरकारले सहजीकरण गर्न आवश्यक भएको औल्याए । उनले भने–‘वास्तममा धेरै रेगुलेसन गरिएको रहेछ, मेनपावरहरुलाई दुई करोड रुपिँयाको धरौटी राखिएको छ, विभागको काम सबै अनलाईन सिस्टममा गएकोछ, अव रेगुलेशन मात्र नभएर सहजीकरण पनि गर्नुपर्छ ।’ विदेशमा सरकार आफैले परराष्ट्र मन्त्रालयमार्फत लविङ गरेर कामदारको काटा ल्याएर मेनपावरलाई दिने हो भने खर्च मात्र कटौती हुँदैन अनुगमन गर्न पनि सजिलो पर्ने महानिर्देशक दाहालको भनाई छ ।
महानिर्देशक दाहालले वैदेशिक रोजगारमा जाने कामदारले अहिले पनि १० हजारभन्दा बढि तिरेर जानु परिरहेको र रोक्न नसकिएको बताए । दाहालले भने–‘वैदेशिक रोजगार विभागमा ठुलो विकृतिको रुपमा यो विषय छ, यो विषय सिधै पब्लिकसँग जोडिएको छ, साच्चै भन्ने हो भने दशै हजार तिरेर वैदेशिक रोजगारमा जाने मान्छे त मेरो विचारमा थोरै मात्र होलान् तर कागजीरुपमा त दशै हजारको बिल पेस हुन्छ ।’ उनले नीति बनाउँदा नै धेरै पक्ष केलाउन जरुरी रहेको बताए ।
विभागको काम कारवाही सुर्धान निवर्तमान महानिर्देशक भिष्मकुमार भुषालले धेरै कार्ययोजना अगाडि ल्याएका थिए । महानिर्देशक दाहालले राम्रा कामको निरन्तरता दिने बताएका छन् । उनले भने–‘ हिजो महानिर्देशकले जुन काम गर्नु भएको थियो, जुन मापदण्डमा उहाँले छोड्नुभएको छ त्यही बटमलाइनलाई नै आधार मानेर म अगाडि बढ्छु ।’
महानिर्देशक दाहालले विभागको आफ्नै कार्यक्षेत्रमा पनि सुधार गर्दै जाने बताए । ‘म शुन्य सहनशीलतामा काम गर्छु र म आफु गल्ति गर्दिन र अरुले गल्ति गरे भने जसले गरेको छ त्यसलाई पनि छोड्दिन’ महानिर्देशक दाहालले भने–‘ वैदेशिक रोजगारका नाममा ठगी भइरहेको जानकारी पाएको ३० मिनेटभित्र म आफैं वा विभागका कर्मचारी सम्बन्धित ठाउँमा पुग्छौ र कारवाही गछौं ।’
फोटो : पर्वत विक