अमेरिका जाने लोभमा अफ्रिकामा बन्धक बनाइएका नेपाली युवाको उद्धार, बन्धक बनाउने भारतीय नागरिक पक्राउ
- रोजगारमञ्च
- कार्तिक २७, २०७६
- 0
नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर बन्धक बनाउने भारतीय नागरिक पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले पर्वत, दाङ र पूर्वी रुकुमका ६ जना युवालाई अमेरिका लैजान्छु भनेर अफ्रिकाको मलावीमा लगेर बन्धक बनाउने कार्यमा संलग्न भारतीय नागरिक नाजिर अहमदलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले गएको एक वर्षदेखि अमेरिका लैजाने भनी भियतनाम, इथियोपिया, मडागास्कार, जोर्डन, दुबई, अजरबैजान हुँदै अफ्रिकाको मलावी पुर्याएर बन्धक बनाएको जानकारी दिए ।
‘ब्यूरोको टोली र मलावीको सीआईडी पुलिसको समन्वयमा मलावीको गाउँबाट उद्धार गरी स्वदेश फर्काउन सफल भएका छौँ’, उनले भने । उद्धार गरिएका मध्ये पर्वतका चार युवालाई स्वदेश ल्याइसकिएको र बाँकी दुई जनालाई ल्याउने क्रममा रहेको ब्यूरोले जनाएको छ ।
मानव तस्कर गिरोहले अजरबैजान लाने क्रममा नेपालबाट भियतनाम लगेर २० दिन राखेको, इथियोपियामा चार महिना, मडागास्कारमा २५ दिन, जोर्डनमा एक महिना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिन राखेको अनुसन्धानमा खुलेको छ ।
मानव ओसारपसार तथा बन्धक बनाउने अन्तर्राष्ट्रिय गिरोहको मलावी प्रहरी तथा मानव बेचविखन अनुसन्धान ब्यूरोबाट अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ अनुसार कारबाही हुने प्रवक्ता थपलियाले बताए ।