आप्रवासी कामदारको मानव अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा
सम्मेलन कात्तिक २६-२८ काठमाडौमा हुदै
- कार्तिक २२, २०७६
- 0

राष्ट्रिय मानव अधिकार आयोगले आउँदो कात्तिक २६, २७ र २८ गते राजधानीमा हुने आप्रवासी कामदारको मानव अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जनाइएको छ । आयोगले पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय सम्मेलनका लागि आवश्यक तयारी पूरा भएको जानकारी गराएको हो ।
आयोगका सदस्य एवं सो सम्मेलनका संयोजक सुदीप पाठकले आप्रवासी कामदार स्वच्छ र जवाफदेही भर्ना प्रक्रिया कामदारको सुरक्षा परिवारको अधिकार तथा न्यायमा पहुँचजस्ता विषयमा सम्बोधन गर्न तीन दिनसम्म काठमाडौँमा सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिए ।
उनले आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी सम्मेलन एसिया प्रशान्त क्षेत्रका उत्पत्ति मुलुक, बाटोमा पर्ने मुलुकहरू र गन्तव्य देशमा देखिएका चुनौती स्वच्छ र जिम्मेवार भर्ना प्रक्रिया अनियमित आप्रवासनलाई सम्बोधनको साझा सवाल न्यायमा पहुँचको सुनिश्चितता सम्भावना तथा सहकार्य र सूचना आदानप्रदानजस्ता विषयमा केन्द्रित हुने जानकारी दिए ।
पत्रकार सम्मेलनमा आयोगको दोस्रो अन्तर्राष्ट्रिय आप्रवासन सम्मेलनमा मलेसिया, कुवेत, केन्या, माल्दिभ्स, मङ्गोलिया, दक्षिण अफ्रिका, कतार तथा बङ्गलादेश, भारत, थाइल्यान्डलगायतका देशका मानव अधिकार संस्थाका अधिकारीहरू, सरकारी निकाय, गैरसरकारी निकाय नागरिक समाजलगायत गरी ६२ जना अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागिता रहने सुनिश्चित भएको जानकारी दिइयो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय परराष्ट्र मन्त्रालयलगायत विभिन्न सरकारी निकाय, वैदेशिक रोजगार व्यवसायी सङ्घ, आप्रवासी कामदारको मानव अधिकार संरक्षणमा क्रियाशील गैरसरकारी संस्था, नागरिक समाज तथा विज्ञहरूसहित अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागिता रहने सोही पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सम्मेलनमा विभिन्न देशका मानव अधिकार आयोगका अध्यक्ष तथा सदस्य अन्तर्राष्ट्रिय विज्ञ सरकारका प्रतिनिधि नागरिक समाजका प्रतिनिधिका साथै आप्रवासी कामदारको मानव अधिकार संरक्षण कार्यरत अन्तर्राष्ट्रिय संस्था सहभागी हुने आयोगले जनाएको छ ।