८६ स्वास्थ्य संस्थाले कहिले पाउलान् मलेसियाको बायोमेडिकल गर्न ?
- रोजगारमञ्च
- कार्तिक २०, २०७६
- 0
मलेसिया रोजगारीमा धेरै विवादित रहेको बायोमेट्रिक स्वास्थ्य परीक्षण र त्यसका लागि छनौट भएका स्वास्थ्य संस्थाको बिषयले समाधानको बाटो लिएको छ । मलेसिया जाने कामदारको बायोेमेडिकल गर्नका लागि ३६ वटा संस्थामात्र मलेसियाले छनौट गरेपछि सरकारले सिफारिस गरेका ८६ संस्था अन्योलमा थिए ।
मलेसियाले स्वास्थ्य परीक्षण गर्न नेपाल सरकारले सिफारिस गरेको १ सय २२ मध्ये इच्छुक नयाँ ८६ स्वास्थ्य संस्थालाई बायोमेडिकल स्वास्थ्य परीक्षणमा सहभागी हुन् आवेदन माग गरेपछि यो विवाद टुंगोमा पुग्न लागेको हो ।
नेपालबाट ३६ वटा संस्थाले बायोमेडिकल परीक्षण गरिरहँदा अन्य थप संस्था आवश्यक छ वा छैन भन्ने विषयमा मलेसिया नै त्यति सन्तुष्ट भएको पाइदैन ।
१४ वटै स्रोत मुलुकबाट मलेसिया आउने कामदारको स्वास्थ्य परीक्षण गर्ने जिम्मा पाएको बेस्टिनेट एसडीएन बीएचडीले मलेसियाको अध्यागमन विभागसँग सम्बन्धित आफ्नो वेबसाइटमार्फत सोमबार सार्वजनिक सूचना जारी गर्दै मलेसियाको बायोमेडिकल गर्न इच्छुक संस्थाका लागि आवेदन खुला गरेको हो ।
मलेसियाले नेपाल सरकारबाट छनोट भएका नयाँ ८६ स्वास्थ्य संस्थामध्ये मलेसियाले तोकेको मापदण्ड पुरा गरेका संस्थालाई आवेदन दिन एक महिनाको समय दिएको छ । आवेदन दिन इच्छुक संस्थाले पुरा गर्नुपर्ने प्रक्रिया उल्लेख गर्दै उसले आगामी डिसेम्बर ४ तारिखसम्म आवेदन दिन सकिने जनाएको छ ।
गत गत सेप्टेम्बरमा नेपाल र मलेसिया सरकारबीच भएको संयुक्त वैठकको सहमति अनुसार आवेदन खुला गरिएको हो । नेपाल सरकारले सिफारिस गरेको १ सय २२ संस्था मध्ये ३६ वटा संस्थाले बायोमेडिकल स्वास्थ्य परीक्षण गर्दै आएकाले नयाँ ८६ संस्थाको मात्र अनुगमन गर्ने सहमति दुई देशको बैठकमा भएको थियो ।
गत सेप्टेम्बर १० देखि १२ गते सम्म मलेसियामा बसेको दुई देशका अधिकारी सम्मिलित दोस्रो संयुक्त बैठकले विगतमा मलेसियाको स्वास्थ्य परीक्षण गर्दै आएका ३६ वटा संस्थाबाट स्वास्थ्य गर्ने सहमति गर्दै कामदार पुनः मलेसिया जाने प्रक्रिया सुचारु गर्ने सहमति गरेको थियो । नेपाल सरकारबाट सूचिकृत भएर मलेसियाली टोलीले गरेको अनुगमनमा छनोट भएका ३६ संस्थाबाट हाललाई मलेसियाको स्वास्थ्य परीक्षण गर्ने र नेपाल सरकारले सूचिकृत गरेका अन्य ८६ संस्थाको अनुगमन प्रक्रिया आगामी नोभेम्बर पहिलो साता सुरु गर्ने सहमति अनुरुप मलेसियाले स्वास्थ्य संस्था छनोटको प्रक्रिया अघि बढाएको हो ।
मलेसियाले मागेको आवेदनमा बायोमेडिकल गर्न इच्छुक संस्थाले आफ्नो संस्थाको बिस्तृत प्रोफाइल, संस्थाका संचालकको नाम, ठेगाना, कम्पनी रजिष्ट्रार कार्यालयबाट पाएको संस्था संचालन अनुमति प्रमाणपत्र, संस्था रहेको नक्सा तथा संस्थाको सांगठानिक संरचना ढाँचासहित नेपालस्थित मलेसियन दूतावासबाट सिफारिसपत्र समावेश गर्नु पर्नेछ । त्यस्तै स्वास्थ्य संस्थाले स्वास्थ्य मन्त्रालय मातहत रहेका विभिन्न निकायबाट पाएका अनुमति पत्र सहित मलेसियाले मागेको विभिन्न १० वटा आवस्यक कागजात समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
स्वास्थ्य परीक्षणलाई गुणस्तरीय बनाउने भन्दै मलेसियाले नेपाल लगायत भारत, इन्डोनेसिया, फिलिपिन्स लगायतका मुलुकबाट आउने कामदारको स्वास्थ्य परीक्षण बायोमेडिकल बिधिबाट गर्न थालेको हो। बायोमेडिकल गरेका कामदारको स्वास्थ्य परीक्षण रिपोर्ट मलेसियाको अध्यागमन विभागमा पुगेपछि मात्र कामदारको कलिङ् भिसा आउने गरेको छ । विगतमा कलिङ् भिसा आउन तीन महिनासम्म लाग्ने गरेकोमा बायोमेडिकल लागु भएपछि बढीमा तीन दिनमा कामदारको कलिङ् भिसा आउन थालेको छ ।
मलेसिया जाने कामदार स्वयं उपस्थित भएपछि मात्र बायोमेडिकल स्वास्थ्य परीक्षण हुने भएकाले स्वास्थ्य परीक्षण गुणस्तरीय र सहि हुने स्वास्थ्य व्यवसायीले बताउँदै आएका छन् ।