एजेण्टमार्फत मेनपावरसम्म पुग्दै वैदेशिक रोजगार विभाग
वैदेशिक रोजगारका नाममा पैसा लिने एजेण्ट लिम्बू पक्राउ
- रोजगारमञ्च
- मंसिर ९, २०७६
- 0

वैदेशिक रोजगारीको क्षेत्रमा धेरै बिकृति बढ्न थालेपछि वैदेशिक रोजगार विभागले त्यसमा सम्लग्नलाई कारवाही गर्न थालेको छ । वैदेशिक रोजगारमा पठाउनका लागि गाउँदेखि मेनपावरसम्म कनेक्शन भएका एजेण्टलाई विभागले कारवाही थालेको छ ।
मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने ताप्लेजुङ ढुङ्गेसाँघु घर भइ काठमाण्डौ कपन बस्दै आएका ३३ वर्षीय कैलाश लिम्बूलाई विभागले पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिहरुसँग पैसा उठाइरहेको भन्ने सूचना र उजुरीका आधारमा वैदेशिक रोजगार विभागबाट खटिएको टोलीले १ लाख २० हजार रुपैयाँसहित लिम्बूलाई काठमाण्डौ सिनामंगलबाट पक्राउ गरिएको हो ।
सिन्धुली घर भएका झलकबहादुर विक र पोष्टराज विक दुई दाजुभाइबाट नगद रकम लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको विभागका महानिर्देशक भिष्म कुमार भुषालले जानकारी दिएका छन् ।
लिम्बूले दुई दाजुभाइलाई मलेसिया पठाइदिन्छु भनी यस अघि नै ८० हजार रुपैयाँ लिइसकेका थिए । भिसा लागिसक्यो शनिबारको फ्लाइट छ, अब १ लाख ६० हजार रुपैयाँ लिएर आउनु भनेर दुईजना दाजुभाइलाई काठमाण्डौ बोलाएको थियो । तर यहाँ आएर आफूहरुको श्रमस्वीकृति नै नभएको थाहा भएपछि दुई दाजुभाइले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।
नियन्त्रणमा लिइएका लिम्बूलाई कुनै म्यानपावरले रकम लिनको लागि परिचालन गरेको थियो वा थिएन भन्ने सम्बन्धमा अहिले अनुसन्धान भइरहेको विभागका महानिर्देशक भुसालले जानकारी दिए ।
नेपाल सरकारले मलेसियामा वैदेशिक रोजगारमा पठाउनको लागि शून्य लागतमा जान पाउने गरी मलेसियन सरकारसँग सम्झौता गरेको छ । सम्झौता कार्यान्वयन गर्नको लागि विभागले पछिल्लो समयमा अनुगमन कार्य तीब्रता दिएसँगै कारबाहीबाट बच्नको लागि इजाजतपत्रवाला संस्थाले अवैध तरिकाले रकम संकलन गर्ने कार्यको लागि संस्था बाहिरका व्यक्तिहरु परिचालन गर्ने गरेको भन्ने उजुरी प्राप्त भइरहेको विभागको भनाई छ ।
वैदेशिक रोजगार ऐनमा भएको पछिल्लो संशोधनले खारेज भैसकेका एजेन्टले वैदेशिक रोजगारमा पठाइदिन्छु भनी कसैसँग पनि राहदानी र रकम लिन नपाउने र लिएको भेटिएमा वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम हदैसम्मको कारबाही गर्ने प्रकृयालाई अघि बढाएको छ ।
यता मेनपावर व्यवसायीहरुले पनि अनधिकृत एजेण्टले व्यवसाय बद्नाम गरेको आरोप लगाइरहेका छन् ।