वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमूखिकरण तालिम दिने संस्थाको धरौटीमा बृद्धि, पुनरावलोकन गर्न व्यवसायीको माग
- रोजगारमञ्च
- भदौ १०, २०७६
- 0

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमूखिकरण तालिम दिदै आएका संस्थाको धरौटी रकम बृद्धि गरेको छ । यस अघि यस्ता संस्थाले १ लाख धरौटी राख्नुपर्नेमा नयाँ व्यवस्था अनुसार अब ५ लाख रुपैया धरौटी पु¥याउनुपर्ने भएको छ ।
वैदेशिक रोजगार ऐनको संसोधित व्यवस्था अनुसार धरौटी रकम बृद्धि भएको र बृद्धि भएको रकम तीनमहिनाभित्र जम्मा गर्नुपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुसालले जानकारी दिएका छन । यस्तै यी संस्थाहरुको बार्षिक नविकरण शुल्क पनि ५ हजारबाट बृद्धि भएर १० हजार कायम भएको विभागले जानकारी दिएको छ ।
हाल वैदेशिक रोजगार विभागमा १६० वटा अभिमूखिकरण संस्थाहरु दर्ता भएर काम गरिरहेका छन ।
यता वैदेशिक रोजगार अभिमूखिकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले यो तालिम प्रदायक संस्था भएकाले यसको धरौटी बृद्धिको कुनै औचित्य नरहेको भन्दै यसको पुनरावलोकनका लागि ध्यानाकर्षण गराउने जनाएका छन ।
‘यो सेवामूलक संस्था भएको र यसबाट कुनैपनि क्षतिपूर्ति व्योहोर्नु नपर्ने भएकाले धरौटी बृद्धिको आवश्यक्ता नै छैन’ महासंघका अध्यक्ष गौतमले भने ‘धरौटी बृद्धिको निर्णय पुनरावलोकन नभए हामी चरणवद्ध आन्दोलनमा उत्रन बाध्य हुनेछौ ।’