नेपालमै अन्तर्राष्ट्रियस्तरको तालिम दिन खुल्यो ‘इन्टरस्कार्फ सेफ्टी ट्रेनिङ शोलुशन’
- रोजगारमञ्च
- साउन ३१, २०७६
- 0

अत्याधुनिक सुविधासहित अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गर्ने उदेश्यले काठमाडौंको बसुन्धरामा नयाँ तालिम केन्द्र ‘इन्टरस्काफ सेफ्टी ट्रेनिङ सोलुशन प्रालि’ संचालनमा आएको छ । बेलायतका विभिन्न तालिम प्रदायक संस्थाबाट मान्यता प्राप्त उक्त ट्रेनिङ सेन्टरले अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गर्नुका साथै प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ ।
उक्त तालिम केन्द्रको शुक्रवार प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामा, वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ र संचालक टेकबहादुर पौडेलले संयुक्तरुपमा उद्घाटन गरे ।
बेलायतको मान्यता प्राप्त ‘सिर्जस’को स्काफ फोल्डिङका विभिन्न लेभलका कोर्श उक्त ट्रेनिङ सेन्टरले प्रदान गर्ने जनाइएको छ । सिजर्सको प्रमाणपत्र अन्तर्राष्ट्रिय रुपमा मान्यता दिइनुका साथै यसको प्रमाणपत्र लिएपछि गल्फलगायत अन्य मुलुकका बहुराष्ट्रीय कम्पनी, सरकारी निकायले विशेष प्राथमिकता दिने ट्रेनिङ सेन्टरका प्रमुख कार्यकारी अधिकृत पशुपति आचार्यले जानकारी दिए ।
यसका साथै बेलायतकै ‘इराटा’को मान्यता लिएर डोरीमा झुण्डिने ट्रेनिङको विभिन्न लेभलका कोर्शहरु पनि गराइने आचार्यको भनाई छ । विश्वव्यापी श्रम बजारको अधिकांश क्षेत्रमा विशेष प्रकारका डोरी तथा अन्य उपकरणको प्रयोग गरी अप्ठयारो र अग्लो ठाउंमा कुनै कार्य गर्न यस प्रकारको तालिम उपयोगी हुन्छ । साथै यो उद्दार मिसनमा पनि प्रयोग गरिन्छ ।
आगामी दिनमा ७ वटै प्रदेशमा शाखा विस्तार गर्ने योजना लिएको उक्त ट्रेनिङ सेन्टरले ६ महिनाभित्र हस्पिटालिटी तालिम प्रदान गर्ने योजना रहेको संचालक टेकबहादुर पौडेलको भनाई छ ।
ट्रेनिङ सेन्टरको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामाले सरकारले गर्ने काम नीजि क्षेत्रले गरेको भन्दै स्वदेशमा वा विदेशमा सीप र दक्षताको महत्व धेरै रहेको बताए । नेपालमा अव धेरैभन्दा धेरै तालिम प्रदान गर्ने संस्था खुल्न आवश्यक भइरहेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरको ट्रेनिङ सेन्टर खुल्नु राम्रो भएको उनको भनाई थियो ।
वैदेशिक रोजगार प्रवद्र्धन वोर्डमा कार्यकारी निर्देशक राजन श्रेष्ठले आजको आवश्यकता नै सीप विकास भएको भन्दै अव वैदेशिक रोजगारमा जानेले अनिवार्य सीप सिक्नु पर्ने अवस्था आइरहेको बताए । अन्तर्राष्ट्रियस्तरको नयाँ तालिम केन्द्र संचालनमा आएर नेपाली जनशक्तिलाई दक्ष बनाउन सहयोग पुग्ने उनको भनाई थियो ।
सो अवसरमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले अव सबै व्यवसायीहरुले यस्ता तालिम केन्द्रलाई प्राथमिकता दिनु पर्ने बताए । उनले भने–‘अवको तीन बर्षमा तालिम लिएका कामदार मात्र विदेश जाने अवस्था आउँछ ।’
अन्तर्राष्ट्रिय मान्यता प्राप्त उक्त ट्रेनिङ सेन्टरले विशेषगरी स्काफफोल्डिङ, रोप एक्सेस (स्पाइडर क्लिनिङ), एल्मुनियम तथा स्टिल फेर्विकेशन, सटरिङ कार्पेन्टर, फिनिसिङ कार्पेन्टर, स्टिल फिक्सर, इन्सुलेटर, मेशन, वेल्डिङ, इलेक्ट्रिसियन, पेन्टिङ, प्लम्बिङ लगायत धेरै विषयमा तालिम प्रदान गरी दक्ष बनाएर प्रमाणपत्र दिने जनाइएको छ ।
स्वदेशमा होस् या वैदेशिक रोजगारमा जाँदा सीप सिकेर दक्ष बनेर मात्र जानु पर्छ भन्ने सरकारको मान्यतालाई सार्थक बनाउन ट्रेनिङ सेन्टरले अत्याधुनिक सुविधासहित गुणस्तरीय तालिम प्रदान गर्ने संचालकको भनाई छ । ट्रेनिङ सेन्टरमा अन्तर्राष्ट्रिय स्टाण्डर्डका ट्रेनिङ सामाग्रीहरु रहेका छन् । सुविधासम्पन्न कक्षा कोठा, ट्रेनिङ हलका साथै शान्त वातारणमा सिक्न पाइने बताइएको छ । १० रोपनी जग्गामा रहेको ट्रेनिङ सेन्टरमा होस्टेल तथा क्यान्टिनको व्यवस्थासमेत रहेको छ ।
विशेषगरी मेनपावर कम्पनीहरुलाई उक्त ट्रेनिङ सेन्टरले विशेष सुविधासहित छुट प्रदान गर्नुका साथै वैदेशिक रोजगारमा जानेहरुको तालिम, अन्तर्वार्ता तथा स्किल टेष्ट गराउनका लागि सम्झन संचालक पौडेलले अनुरोध गरेका छन् ।
अव अदक्ष बनेर कमजोर होइन दक्ष र सीपयुक्त बनेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु ट्रेनिङ सेन्टरको अभियान रहेको बताइएको छ ।