आप्रवासी कामदारमा आयोगको चासो, अन्तर्राष्ट्रिय सम्मेलन कार्तिकमा गर्दै
- रोजगारमञ्च
- साउन ६, २०७६
- 0
राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदार र वैदेशिक रोजगारका विषयमा चासो दिन थालेको छ । आगामी कात्तिकमा काठमाडौँमा ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलन’ को आयोजना गर्ने भएको छ ।
आयोगले पत्रकार सम्मेलन गरी आप्रवासी कामदारको स्वच्छ र जवाफदेही भर्ना प्रक्रिया, कामदारको सुरक्षा, परिवारको अधिकार तथा न्यायमा पहुँचजस्ता विषयमा सम्बोधन गर्न आगामी कात्तिक २६ गतेदेखि २८ गतेसम्म काठमाडौँमा सो सम्मेलन गर्न लागेको जानकारी दिएको छ ।
आयोगका अध्यक्ष अनुपराज शर्माले आप्रवासी कामदारको अधिकार संरक्षण र विषय अहिले संसारकै चासो र महत्वको बनेको हुनाले नेपाल तथा दक्षिण एशियाबाट खाडी मुलुकलगायतमा काम गर्ने लाखौँ कामदारको मानव अधिकारको विषयलाई लिएर सम्मेलन गर्न लागेको जानकारी दिए ।
आप्रवासी कामदारको अधिकार संरक्षणमा खासगरी एशिया प्रशान्त क्षेत्रका उत्पत्ति मुलुक र गन्तव्य मुलुकमा देखिएका चुनौती, स्वच्छ र जिम्मेवारी भर्ना प्रक्रिया, अनियमित आप्रवासनलाई सम्बोधनको साझा सवाल, न्यायमा पहुँचको सुनिश्चिताका सम्भावना तथा प्रयास, सहकार्य र सूचना अदानप्रदानजस्ता विषयमा सम्मेलन केन्द्रित हुनेछ ।
तीन दिनसम्म चल्ने सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञबाट कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनमा ३० देशका २४ मानव अधिकार आयोगका अध्यक्ष तथा सदस्य, अन्तर्राष्ट्रिय विज्ञ, सरकारका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिका साथै आप्रवासी कामदारको मानव अधिकार संरक्षण कार्यरत अन्तर्राष्ट्रिय संस्था सहभागी हुनेछन् ।
सम्मेलनमा अन्तर्राष्ट्रियस्तरबाट ९० विज्ञ सहभागी हुने अपेक्षा गरिएको छ । नेपालबाट ३५ विज्ञले भाग लिनेछन् । आयोगले सम्मेलनको तयारीका लागि आयोगका सदस्य सुदीप पाठकको संयोजकत्वमा एक समिति गठन गरेको छ ।