राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुरु, बेरोजगारी र गरिबीको अन्त्य गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
- रोजगारमञ्च
- असार १५, २०७६
- 0
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राजधानीमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०१६ सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका हुन ।
उदघाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले देश विकास अहिलेको साझा सवाल भएको र यसका लागि सत्ता पक्ष र प्रतिपक्ष सँगै मिलेर अघि बढनुपर्नेमा जोड दिए । जुनसुकै सरकारले पनि गरिवी र वेरोजगारीसँग लडिरहनुपरेकाले अब त्यसको अन्त्य गर्न सबै मिलेर अघि बढनुको विकल्प नभएको प्रम ओलीको धारणा थियो ।
‘अहिले सबैको साझा मुद्धा भनेकै देश विकास हो यसका लागि गरिवी निवारण र बेरोजगारी अन्त्य अपरिहार्य छ । यसका लागि हामी सत्तापक्ष र प्रतिपक्ष नभनि सँगै हिडौ, राजनैतिक मुद्धामा छलफल गर्दै अघि बढौला’ प्रम ओलीले भने –‘अब हामीले भोलीको पुस्तालाई यो समस्या सुम्पन हुदैन, मेरै कार्यकालमा यसको अन्त्य हुने गरिका काम हुनेमा म प्रतिवद्ध छु ।’
नेपालीहरु श्रम गर्न रुचाउने भएकै कारण वैदेशिक रोजगारीको क्षेत्रमा पनि इमान्दारी र मेहनती भनेर नेपालीहरुको अत्याधिक माग रहेको बताउदै प्रम ओलीले अब देशमै यस्ता श्रमशिल युवाहरुलाई आकर्षक रोजगारी दिन सकिने गरिका कार्यक्रम ल्याइने बताए । उनले जिवन उपयोगी शिक्षा, कृषिमा आधुनिकीकरण जस्ता कुरामा सरकारले जोड दिएको बताउदै देशमै प्रशस्त रोजगारी सिर्जनाका लागि अब धेरै काम हुने बताए ।
सम्मेलनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुक भित्रै रोजगारीको अवसर अधिकतम सृजना गर्न र वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आवश्यक सुझाव संकलन गर्ने उद्देश्यका साथ सो सम्मेलन आयोजना गरिएको स्पष्ट पारे ।
दुई दिनसम्म चल्ने सम्मेलनमा श्रम तथा रोजगारका क्षेत्रमा सरकारले चाल्नुपर्ने कदम, निर्माण गर्नुपर्ने ऐन–कानून तथा नीति, यस क्षेत्रका चुनौति, रोजगारी तथा सीपको सम्भाव्य क्षेत्र पहिचानलगायतका विषयमा छलफल गरेर साझा धारणा तयार गर्ने श्रम मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा सरकारी निकाय, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार क्षेत्रका विज्ञ, विकासका साझेदार र गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता छ । सम्मेलन सोमबार साझ समापन हुदैछ ।