स्वास्थ्य क्षेत्रमा नेपाली लिन इच्छुक रहेको भन्दै नेपाली कामदार पठाउन ओमानको आग्रह
- रोजगारमञ्च
- असार ३, २०७६
- 0
खाडी मुलुक ओमानले स्वास्थ्य क्षेत्रका लागि नेपाली लिन इच्छुक रहेको भन्दै नेपाली कामदार पठाउन आग्रह गरेको छ ।
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालसँगको शिष्टाचार भेटमा ओमानका स्वास्थ्यमन्त्री डाक्टर अहमद बिन मोहम्मद पवन ओबइड अलसादीले उक्त आग्रह गरेका हुन ।
मन्त्री अलसादीले ओमानमा स्वास्थ्य क्षेत्रमा प्रशस्त अवसर रहेको भन्दै डाक्टर, नर्स, ल्याब टेक्निसियन, फार्मेसिस्टलगायतका पदमा नेपाली कामदार लिन इच्छुक रहेको बताएका दुतावासका एक कर्मचारीले जानकारी दिए ।
उक्त अवसरमा ओमानमा रहेका नेपाली कामदारको अवस्था र अवसरका बारेमा पनि छलफल भएको दुतावास स्रोतले जानकारी दियो ।
मन्त्री अलसादीले गरेको प्रस्तावको स्वागत गर्दै राजदूत ढकालले नेपाल सरकार र ओमान सरकारबीच श्रम समझदारीको अन्तिम तयारी भइरहेकोले यसपछि नेपाली कामदार पठाउन पहल गरिने बताएकी थिइन् ।
नेपाल सरकारले पहिलो पटक ओमान सरकारसँग शुन्य लागतमा जान पाउने गरी अधिकतम सुरक्षासहितको श्रम समझदारी गर्दैछ । यसका लागि दुवै मुलुकका अधिकारीबीच अन्तिम मस्यौदामा सहमति जुटिसकेको छ भने छिट्टैनै समझदारी पत्रमा हस्ताक्षर गर्नका लागि मिति तयको तयारी भैरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।