वैदेशिक रोजगार व्यवसायीमा चुनावी सरगर्मी : फोरमबाट गैरे, गुरुङ र तामाङ, मञ्चबाट पोखरेल, भान्तना र पाण्डेको दावी

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही असार २७ गते हुने साधारणसभा र नयाँ नेतृत्व चयनको समय नजिकिदै जादा व्यवसायीहरुमा चुनावी सरगर्मी सुरु भैसकेको छ ।

नयाँ नेतृत्वका लागि कांग्रेस समर्थित व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी फोरमले विहिबार एक विज्ञप्ती जारी गर्दै इच्छुक आफ्ना सदस्यहरुबाट उम्मेदवारको नाम मागेको छ ।

फोरमका अध्यक्ष हंशराज वाग्लेले जारी गरेको विज्ञप्तीमा संघको सदस्यदेखि अध्यक्षसम्मका पदहरुमा उम्मेदवारी दिन इच्छुकहरुले आफ्नो योग्यतासहित शुक्रबार १ बजे भित्र फोरमको कार्यालय नयाँबानेश्वरमा नाम दर्ता गराउन भनिएको छ ।

इच्छुक उम्मेदवारहरुको नामावली संकलनपछि फोरमका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु तथा पार्टीको केन्द्रिय प्रतिनिधिको रोहवरमा फोरमको कार्यसमितिले सर्वसम्मत उम्मेदवार छनोट गर्ने अध्यक्ष वाग्लेले बताए ।

गत निर्वाचनमा आफ्नै कम्जोरीका कारण हार बेहोरेको निश्कर्ष निकाल्दै फोरमले यसपटक भने जित्ने उम्मेदवारहरु छनोट गरी फोरमकातर्फबाट सर्वसम्मत उम्मेदवार संघको निर्वाचनमा पठाउने तयारी गरेको हो ।

यद्यपी फोरममा अध्यक्षको दावी गर्ने ४ जना छन् । विष्णु गैरे, भुवनसिंह गुरुङ, कमल तामाङ र कमलदेम मल्लले अध्यक्षको दावी गरेका छन् । फोरमका पूर्व अध्यक्ष र संघका पूर्व द्धितिय उपाध्यक्ष समेत भइसकेका गैरे दरिलो उम्मेदवारका रुपमा फोरममा रहेका छन् । तर, भुवन गुरुङ र कमल तामाङले त्यतिकै छोड्ने अवस्थामा छैनन् ।

भुवन गुरुङ वर्तमान कार्यसमितिको द्धितिय उपाध्यक्ष हुन् र अघिल्लो निर्वाचनमा फोरमबाट जित्ने उनी एक्ला हुन् । यता तामाङको क्रेज छुट्टै छ । फोरम अध्यक्ष वाग्लेका विश्वासपात्र मानिने तामाङ संघका पूर्वमहासचिव हुन् । उनी स्पष्टवक्ता र व्यवसायीका प्रिय छन् ।

फोरमबाट महासचिव पदमा भने सुजित श्रेष्ठनै हुने पक्का छ । उनी निरन्तर व्यवसायी माझ सक्रिय भएर लागिरहेका छन् ।

फोरमले सर्वसम्मत नेतृत्व चयन गर्नका लागि नेपाली काँग्रसलाई गुहारेको छ । नेपाली कांग्रेसले वैदेशिक रोजगार व्यवसाय हेर्नका लागि केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा विपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेलाई खटाएको छ ।। फोरमले जुनसुकै हालतमा सर्वसम्मत नेतृत्व छनौट गरेर संघको चुनाव जित्ने तयारीमा छ ।

अघिल्लो निर्वाचनमा बहुमतसहितको अधिकांश कार्यसमिति नेकपा निकटको प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले खडा गरेको प्यानलले जित हासिल गरेको थियो । आफु निकटकै सरकार हुँदा पनि धरौटी बृद्धि, सेवा शुल्क, मलेसिया रोजगारीलगायतका व्यवसायीहरुको समस्याप्रति वर्तमान नेतृत्वले केहि गर्न नसकेको भन्दै फोरमले अबको नेतृत्वमा आफ्नो दावेदारी बलियोसँग प्रस्तुत गर्न खोजेको छ ।

एकाथरी व्यवसायी भने अहिले ब्यवसाय संकटमा परको बेला निर्वाचन गरेर समय खेर नफाल्न सुझाव दिदै आएका छन् । उनीहरुले सर्बसम्मत नेतृत्वको चयन गरेर व्यवसाय जोगाउन आह्वान गरिरहेका छन् ।

मञ्चबाट सरोज, भान्तना र पाण्डेको दावी

यता प्रगतिशिल वैदेशिक रोजगार मञ्चले अहिले निर्वाचन आवश्यक नभएको बताइरहँदा नेतृत्व हत्याउन भित्रभित्रै खेल शुरु भएको छ । अध्यक्ष रोहन गुरुङका विश्वास पात्रकारुपमा रहेका महासचिव नरेश गेलालले नाटकियढंगबाट राजिनामा दिएपछि अहिले संघ र मञ्चमा नै तरङ्ग उत्पन्न भएको छ । सरोज पोखरेललाई महासचिवमा मनोनित गरेर अध्यक्षको उम्मेदवार बनाउन बाटो खुल्ला गरेका गेलालले भने संघको राजनीतिबाट हात धुदैछन् ।

अर्का संघका बर्तमान प्रथम उपाध्यक्ष रामप्रसाद भान्तना स्वत अध्यक्षको उम्मेदावर भएको बताउँछन् । उनी भन्छन्–‘मलाई अध्यक्ष बन्नबाट रोक्ने व्यवसायी मात्र हुन् त्यसैले मैदानमा जुनै हालतमा पनि जान्छु, अरु कसैले रोक्न सक्दैन ।’ हुनत उनलाई गणतान्त्रिक व्यवसायी संघले आधिकारिक अध्यक्ष उम्मेदवार खुलेर भन्न थालिसकेको छ ।

अर्र्का हक्की व्यवसायी भनेर चिनिने हरि पाण्डे क्षेत्रीले पनि संघको अध्यक्षको दावी गरेका छन् । उनलाई भने यो आकांक्षा रहरमा मात्र सिमीत हुने मञ्चका पदाधिकारीहरु नै बताउँछन् ।

व्यवसाय संकटमा पर्दा व्यवसायीहरु चुनावी माहोलमा फसेर आफ्ना पोल खोलाखोल गरेर नाङ्गो हुनेकी सर्वसम्मत नेतृत्व खोज्ने व्यवसायी कै हातमा छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *