लोकसेवाको विज्ञापन अब के होला ? संसदीय समितिले दियो रद्द गर्न निर्देशन
- जेष्ठ २७, २०७६
- 0
लोकसेवा आयोगले केही दिनअघि कर्मचारी माग गर्दै खुलाएको विज्ञापन रद्द गर्न संसदीय समितिले निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले विज्ञापन समावेशी नभएको भन्दै रद्द गर्न निर्देशन दिएको हो ।
समितिकी सभापति शशी श्रेष्ठले लोकसेवा आयोगले जेठ १५ गते ९ हजार कर्मचारीका लागि खोलेको विज्ञापन संविधानको धारा २९३ अनुसार नभएकोले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तत्काल रद्द गर्न निर्देशन दिएकी हुन् ।
समितिले यस्तो निर्देशन दिए पनि बैठकमा सहभागी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने लोकसेवाले कर्मचारी भर्नाका लागि गरेको पछिल्लो विज्ञापन ऐनअनुसार नै भएको बताएका थिए ।
समितिले कर्मचारी समायोजन भएपछि मात्र संगठन तथा व्यवस्थापन सर्वेक्षण्का आधारमा संगठन संरचना कायम गर्ने व्यवस्था स्पष्टरुपमा राखिएको सन्दर्भमा जेठ १५ गते लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुको लागि प्रकाशन गरेको विज्ञापन संविधानको मर्म र भावना अनुरुप नदेखिएकोले उक्त विज्ञापन तत्काल रद्द गर्न संविधानको धारा २९३ अनुसार लोक सेवा आयोगलाई निर्देशन दिने निर्णय गरेको हो ।