नेपाली कामदार आपूर्तिका लागि जापानसँग आज अपरान्ह सम्झौता हुदै
सम्झौता १ अप्रिलदेखि नै कार्यान्वयनमा आउने
- चैत्र १०, २०७५
- 0
नेपाली कामदार लैजान नेपाल सरकार र जापान सरकारबीच भोली सोमबार श्रम सहमतिमा हस्ताक्षर हुने भएको छ । १ अप्रिलदेखि नै कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदार आपुर्तिको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी) मा हस्ताक्षर हुने भएको हो ।
एमओसीमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहाल र जापानका ४ वटा मन्त्रालयका अधिकारीहरुले हस्ताक्षर गर्नेछन् ।
पछिल्लो समय कामदार अभाव भएपछि जापानले नेपालसहित चीन, भियतनाम, इण्डोनेसिया, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, म्यानमार र मंगोलिया ९ वटा देशबाट कामदार लैजाने नीति पारित गरेपछि नेपाल र जापानबीच कामदार लैजाने विषयमा छलफल शुरु भएको थियो ।
जापानले पहिलो ५ वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औधोगिक क्षेत्रमा काम गर्ने अनुमति दिएर लैजाने तयारी थालेको छ । समझदारीका क्रममा दुवै देशका अधिकारीले नेपाली कामदारलाई छुट्याएको कोटा जानकारी नदिएपनि झण्डै ४० हजार नेपालीले पहिलो चरणमा रोजगारी पाउने अनुमान गरिएको छ ।
यता मेनपावर व्यवसायीहरु तथा केहि रोजगारविज्ञहरुले जापानसँगको श्रम सहमति सकारात्मक पक्ष भएपनि घुमाउरो पाराले सरकारको कदमको भने आलोचना गरेका छन् । उनीहरुले सरकारले स्वदेशमै रोजगारी सिर्जनालाई पहिलो प्राथमिकता दिनुपर्नेमा श्रम सम्झौता गरेर सरकार आफै नेपाली कामदार विदेश पठाउन लाग्नु भने दुर्भाग्य भएको बताएका छन ।
सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने र विकल्प नहुदासम्म श्रम समझदारी गरेर नीजि क्षेत्रलाई यो जिम्मेवारी दिनुपर्नेमा आफै कामदार विदेश पठाउन अघि सरेको भन्दै एक मेनपावर व्यवसायीले भने-‘सरकारले मेनपावरको काम गर्ने हो भने सरकारले नै लाइसेन्स दिएका मेनपावर व्यवसायीले अब के काम गर्ने त ?’
तथापी राम्रा तथा आकर्षक रोजगार गन्तव्य बिकास गर्नु र श्रम समझदारी गरेर नेपाली कामदार विदेश पठाउने व्यवस्थाको आरम्भ गर्नु सरकारको सकारात्मक नै कदम हो । तर, सरकारले यसका लागि वातावरण तय गरेर देशमै बढीभन्दा बढी रोजगारी बढाउनतर्फ लाग्नुपर्नेमा आफै मेनपावरको काम गर्न अघि सर्दा कतै विदेशमै नेपाली पठाउन सरकार लालायीत भएको त होइन भन्ने आशंका भने जन्मिएको छ ।