पुनः दक्षिण कोरिया जान चाहनेका लागि शुक्रवारदेखि भाषा परीक्षा आवेदन खुल्ला
- फाल्गुन १७, २०७५
- 0

पुनः दक्षिण कोरियामा जान चाहने युवायुवतीका लागि आजदेखि कोरिया भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको छ ।
तीन वर्ष वैधानिक रुपमा काम गरेर फर्किएका र पुनः दक्षिण कोरिया जान चाहने युवायुवतीका लागि आज (शुक्रवार)देखि आवेदन खुल्ने भएको हो । इच्छुक व्यक्तिले यही फागुन १७ देखि १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने आगामी चैत ११ गते परीक्षा तालिका सार्वजनिक गरिने वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ ।
आगामी वर्ष वैशाख ४ गतेदेखि सञ्चालन हुने दक्षिण कोरिया भाषा परीक्षा कम्प्युटर प्रणाली अन्तर्गत (सीबीटी) हुनेछ ।
आवेदन दिन चाहने व्यक्तिहरुले काठमाडौंमा रहेको ईपीएस कार्यालयमै आउनुपर्ने वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ ।
ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले सीबीटी आधारित परीक्षामा सहभागी हुने व्यक्तिले नामावली नै कोरियाको मानव संसाधन विकास (एचआरडी) ले पठाउने जानकारी दिए ।
यसका लागि कोरियामा वैधानिक भएर काम गरेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका व्यक्तिहरू कम्प्युटर परीक्षाका लागि योग्य हुन्छन् ।
यसमा सामेल हुन कोरियाबाट फर्किंदा ‘एलाइन्स रजिस्ट्रेसन कार्ड’ कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्ने शाखाले जनाएको छ ।
शाखाका अनुसार सन् २०१० जनवरीदेखि वैधानिक भएर कोरियाबाट फर्किएका श्रमिक कम्प्युटर भाषा परीक्षामा सहभागी हुन पाउने छन् । यस वर्षदेखि कार्यक्षमता र फर्किएका श्रमिकको अवधि हेरेर अङ्क पाउने प्रणाली पनि लागू गरिने शाखाका सूचना अधिकारी भण्डारीले जानकारी दिए । उनका अनुसार कोरियाबाट तीन वर्ष काम गरी फर्केका ३९ वर्ष ननाघेका व्यक्ति मात्र पुनः सहभागी हुन पाउनेछन् ।