जापान रोजगारीमा नेपालीका लागि औपचारिक ढोका खुल्यो
बार्षिक झण्डै ४० हजार नेपाली कामदार लैजाने
- पुस ११, २०७५
- 0
वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्यको मुलुक जापानमा नेपाली कामदारका लागि रोजगारीको ढोका खुलेको छ । जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाने निर्णय गरेपछि जापानमा नेपाली कामदारका लागि औपचारिक ढोका खुल्ला भएको हो । यसअघि जापानले नेपालबाट औधोगिक प्रशिक्षार्थीका रुपमा नेपालीलाई लिदै आएको थियो ।
जापान सरकारले मंगलबार विदेशी कामदारका लागि १२६ वटा मापदण्ड तय गरेसँगै ९ देशबाट विदेशी कामदार लैजाने भएको हो । जापानले नयाँ नीति तय गर्दै नेपाल, थाइल्यान्ड, चीन, भियतनाम, इण्डोनेसिया, मंगोलिया लगायत ९ देशबाट कामदार लैजाने भएको हो ।
कामदार संकट गहिरिएपछि जापानले यी ९ मुलुकबाट कामदार भित्र्याउने तयारी गरेको हो । जापानले नयाँ कामदार भर्नाको प्रक्रिया भने द्विपक्षीय श्रम सम्झौता गरेर मात्र गर्ने तयारी गरेको छ ।
जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न अनुमति दिने योजना अघि सारेको छ । यी मध्ये वर्षमा झन्डै चालिस हजार कामदारको कोटा नेपालको भागमा पर्ने भएको छ ।
सुरुमा अप्रिल महिनादेखि नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालनका लागि भाषा परीक्षा लिइने र बाकी क्षेत्रमा सन् २०२० को मार्चसम्म क्रमशः परीक्षा लिइने बताइएको छ । आउँदा वर्षहरूमा कामदारको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
१८ वर्ष पुगेका व्यक्तिलाई रोजगारीमा लैजाने र त्यसका लागि कुनैपनि किसिमको दलालको सहारा तथा कुनै रकम डिपोजिट राख्न नपर्ने व्यवस्था गरिने जापान सरकारले स्पष्ट गरेको छ । जापानले लामो समयदेखि विदेशबाट दक्ष श्रमिक लिने तयारी गरिरहेको थियो ।
कामदारहरुलाई उनीहरुको सीप र विज्ञताका आधारमा दुई वटा स्ट्याटस दिइनेछ । पहिलो स्टाटसमा आउनेहरु पाँच वर्ष बस्न पाउनेछन् र उनीहरुले आफ्नो परिवार ल्याउन पाउने छैनन् । दोस्रो स्टाटसमा रहेकाहरुले परिवार पनि ल्याउन पाउनेछन् र भिसालाई पटकपटक नविकरण गर्न सक्नेछन् ।
कसरी जान सकिन्छ ?
दक्षिण कोरिया जानको लागि ईपीएस परीक्षा पास गरे जस्तै जापानको लागि पनि भाषा परीक्षा पास गर्नु पर्ने सरकारी अधिकारीहरूले जनाएका छन् । जापान लैजानुअघि दक्ष तथा अर्धदक्ष कामदारको जापानी भाषा र सीप परीक्षण गर्नेछ ।
कामदार आपूर्ति र अन्य विषयमा छलफल गर्न जापानका परराष्ट्रमन्त्री पुस २५ गते नेपाल आउने तय भएको छ । त्यही सयममा जापानी प्राविधिक टोलीसँग वार्ता भएपछि यसको विस्तृत प्रारूप र संख्या समेत तोकिने श्रम मन्त्रालयले जनाएको छ । अनौपचारिक रूपमा केही समय अघिदेखि नै छलफल भइराखेको भए पनि अब मन्त्रालयले औपचारिक रूपमै तयारी थाल्ने उनको भनाइ छ ।
विदेशी श्रमिक प्राप्त गर्ने देशहरूको सूचीमा नेपाललाई समावेश गर्न यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत् बारम्बार छलफल भएको थियो।