जेठ २ सम्म प्रक्रिया पूरा भएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिइने
- साउन ६, २०७५
- 0

सरकारले मलेसिया जान जेठ २ गतेसम्म प्रक्रिया पुरा भएका कामदारको श्रमस्वीकृति दिने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ ३ गतेदेखि मलेसिया जाने कामदारलाई आर्थिक भार थप्दै आएका विभिन्न संंस्था खारेज गर्ने निर्णय गरेसँगै त्यहाँ जाने कामदारको श्रमस्वीकृति दिने प्रक्रिया रोकिएको थियो ।
भिसा लागेका ४ सय ५० भन्दा बढी नेपाली अफ्ठयारोमा परेको भन्दै मेनपावर व्यवसायीहरुले प्रक्रिया पुरा गरेर भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकृति दिन सरकारलाई आग्रह गर्दै आएका थिए ।
मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘मन्त्रालयको २०७५ जेष्ठ २ गतेको निर्णयले श्रमिकबाट अनुचित र गैरकानूनी रुपमा अतिरिक्त शुल्क लिने कार्य बन्द गरिएको छ ।
गैरकानुनी तथा अनुचित कार्य गर्ने संस्थाको कामप्रति रोक लगाइएको व्यहोरा पुन स्मरण गराउँदै २०७५ जेठ २ गतेको नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट निर्णय भएको मितिसम्म भिसा स्ट्याम्पिङ भई अन्तिम श्रम स्वीकृति बाँकी रहेका श्रमिकलाई मात्र अन्तिम श्रम स्वीकृति दिइने व्यवस्था मिलाइएको छ।’
मन्त्रालयले मलेसिया जाने श्रमिकमाथि अनुचित असुली गरी विगतमा भएको ठगी अन्त्य गरी सहज प्रक्रियाबाट रोजगारीमा जाने व्यवस्था मिलाउन गम्भीर रहेको जनाएको छ ।
गैरकानूनी र अनुचित ढगले श्रमिकमाथि भएको शोषण बन्द गरी समाधान खोज्न विभिन्न माध्यमबाट पहल भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस विज्ञप्ती