कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित

news-details

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभा वैठकमा अवरोध गरे पछि कर्णाली सरकारले आज सार्वजनिक गर्ने आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्ने कार्यसूची अनिश्चित बनेको छ ।

सरकारले बजेटमा एकलौटी गरेको भन्दै माओवादी केन्द्रले प्रदेश सभा बैठक अवरोध गरेको हो । प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र उपस्थित नभएपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।

दिउँसो ३ बजेलाई बोलाइएको बैठक माओवादीको विरोधपछि रोकिएको हो । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सत्ता पक्षले एकलौटी बजेट प्रस्तुत गर्न खोजेपछि विरोध जनाएको बताए ।

उनले भने, ‘सरकारले एकलौटी ढङ्गबाट बजेट ल्याउने प्रयास गरिरहेको छ । योजना बैंकमा कुन–कुन योजना समावेश गरिएको छ भन्ने विषय अहिलेसम्म थाहा नहुनु गम्भीर आपत्तिको विषय हो ।’

आजको बैठकमा कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याउने तयारी गरेपनि सत्ता र प्रतिपक्षबीचको विवादका कारण प्रदेशसभा बैठक अनिश्चितकालकाल लागि स्थगित गरिएको हो।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार बजेटको तयारी भएर प्रस्तुतिका लागि सबै तयारी पुरा थियो। तर प्रमुख प्रतिपक्षी दल माओवादीले छलफल विना बजेट बनाइएको भन्दै असहमति जनाएपछि बैठक अघि नबढ्ने अवस्था आएको हो।

मुख्यमन्त्री कार्यालयका अनुसार बजेट अन्तिम चरणमा छ तर राजनीतिक सहमति विना प्रस्तुत गर्ने स्थिति छैन। सहमति जुटाउने प्रयास भइरहेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *