बजारमा गर्मीका विद्युतीय सामग्री : औषत व्यापार, करको मारमा व्यापारी
- जेष्ठ २९, २०८२
- 0

सबिता नयाँजू / गर्मी मौसमलाई मध्यनजर गरी व्यवसायीहरूले बजारमा विभिन्न प्रकारका फ्यान, कुलर र एसीहरू ल्याएका छन् । तर व्यापार सन्तोषजनक नभएको व्यावसायीको गुनासो छ ।
सामान्यतया गर्मी बढेसँगै फ्यान, कुलर र एसीको व्यापार पनि बढ्नुपर्ने हो तर ठिक त्यसको उल्टो भइरहेको व्यापारीहरु बताउँछन् । काठमाडौंको मैतिदेवी, डिल्लीबजारस्थित पसलहरूमा फ्यान, कुलर र एसीहरुको व्यापार घट्दो छ ।
विगतको तुलनामा व्यापार घट्दै गएको व्यापारीहरुको गुनासो छ । साथै, नेपालमा बढ्दो करका कारणले व्यापारीहरु निरुत्साहित हुदैँ गएको पनि उनीहरुको भनाइ छ ।
यसै सन्दर्भमा २२ वर्षदेखि डिल्लीबजार क्षेत्रमा विद्युतीय सामग्रीको व्यपारमा सक्रिय गुल्मीका बिके अर्याल करले गर्दा व्यापार अलि झन्झटिलो भएको गुनासो गर्छन् । व्यापार घटिरहेका बेला करले थप समस्या बनाएको उनको भनाइ छ ।उनले १० प्रतिशत लगानी गर्न सक्ने पसलहरु नाफामा रहे पनि बाँकी ९० प्रतिशत कम लगानीका पसल घाटामा नै चलि रहेको पनि बताए ।
उनले भने, ‘भाडा तिर्न सक्ने अवस्था पनि छैन् । १० प्रतिशत लगानी गर्न सक्ने पसलहरु नाफामा राम्रो तरिकाले चलेका छन् । बाँकी ९० प्रतिशत कम लगानीका पसल घाटामा नै चलि रहेका छन् । बैंक लोन लिएर काम गरिरहेका छौ ।वास्तवमा पसल खोलेरभन्दा पनि बन्द गरेर बस्ने हो भने कम घाटा छ । यस्तो समस्या समाधानको लागि सरकारले करलाई झन्झमुक्त बनाउनुपर्छ ।’
भन्सारमा एक पटक कर लिएपछि नलिने व्यवस्था हुने हो भने उपभोक्ताले पनि सामग्रीहरु शुपथ मूल्यमा पाउने र व्यापार पनि राम्रो हुने उनको बताए ।
अर्थतन्त्रको प्रभाव र व्यापारीहरुबीच हुने प्रतिस्पर्धाले गर्दा पनि कुलर, फ्यानहरुको व्यापार एकदमै घट्दो अवस्थामा रहेको उनी बताउँछन् ।
२००९ देखि फ्यान, कुलर, एसीहरुको व्यापार गरिरहेको गर्जुधाराका विनोद सिलवालले पनि नेपालमा कर अलि बढि नै भएको बताउँछन् ।
उनले अहिले देश मन्दीको अवस्थामा रहेकाले व्यापारमा प्रभाव परेको भन्दै पहिलाको भन्दा यस वर्ष अलि बढि व्यापार हुने अनुमान गरेको बताए ।
उनले भने, ‘राम्रा ब्राण्डको फ्यान, कुलर, एसीहरु प्रयोगकर्ताको रोजाइमा छ । तीन हजारदेखि सुरु हुने गर्मी यामका विद्युतीय सामग्रीहरुमा मन्दीको प्रभाव कायम छ । विगतको भन्दा यो वर्ष अलि बढि गर्मी हुने अनुमान गरिएकाले व्यापार हुने अनुमान गरेको छु । तर निरन्तर झरी बर्षा भयो भने सामान स्टक बस्छ । नेपालमा आर्थिक मन्दीको कारण पनि व्यापारको अवस्था पहिला जस्तो छैन् । तर समग्रमा व्यापार ठिकै छ ।’
यसैगरी मैतीदेवीमा विगत पाँच वर्षदेखि व्यापार गर्दै आइरहेकी इटहरीकी पूजा कालीकोटी भन्छिन्, ‘नेपालका जनता सबै विदेश पलायन हुन थालेपछि सामान विक्री गर्ने मान्छे कम छन् ।’
उनले भनिन्, ‘फ्यानहरुको व्यापार यसपाली छैन् । पहिला ठिक ठिकै थियो तर यसपाली पहिलाको जति व्यापार छैन् । नेपालमा मान्छे नै छैनन्, सबै बाहिर गएका छन् । व्यापार बढाउनका लागि सरकारले करमा सहजीकरण गर्नुपर्छ ।’
त्यसैगरी विगत २५ वर्षदेखि व्यापार गरिरहेका गुल्मीका व्यापारी किरण अर्यालको पनि गुनासो उस्तै छ । नेपालमा कर वृद्धिको कारण व्यापार बढ्न नसकेको भन्दै यसलाई सरकारले न्यूनीकरण गर्नसके व्यापार बढाउन सकिने धारणा राखे ।
उनले भने, ‘सबै प्रकारका एसी, कुलर र फ्यान छन् । कुरलहरु १० देखि २५ हजारसम्मका छन् । नेपालमा कर अलि बढि छ यसलाई सरकारले न्यूनिकरण गरेको भएपनि व्यापार बढ्न सक्थ्यो ।’
अर्का व्यापारी विवेक राठीको प्रतिक्रिया भने सकारात्मक नै छ । पहिलेको तुलनामा आजभोलि काठमाडौंमा एसीको धेरै माग बढेको भन्दै एसी र कुलरहरुको व्यापार उत्साहजनक रहेको बताए ।
उनले भने, ‘हामीसँग सबै सामानहरु छन् । एक हजारदेखि सुरु भएर तीन लाखसम्मका सामान छन् । एसी, कुलरहरुको व्यापार उत्साहजनक नै छ । दिन दिनै गर्मी बढ्दै गएको छ । पहिलेको समयमा काठमाडौंमा एसी त्यती धेरै विक्री हुदैँन् थियो तर आजभोलि काठमाडौंमा पनि धेरै माग बढेको छ र अन्य गर्मी हुने ठाँउमा त झन् माग बढेको छ ।’
राज्यले आयतमा हुने धेरै प्रकारका करहरुमा सहजीकरण गर्न सकेमा व्यापार अझ फष्टाउन सक्ने उनको ठम्याई छ ।
‘हामीले नेपालभर नै सामान पठाउँछौ । यसलाई अझ बढाउनको लागि सरकारको तर्फबाट सहुलीयत प्रदान गर्नुपर्छ । आयतमा धेरै प्रकारको करहरु तिर्नुपर्छ त्यसमा सहजीकरण गर्नुपर्छ,’ उनले भने ।