त्रिदेशीय विद्युत् व्यापार सम्झौता नेपालका लागि कोशेढुंगा : प्रचण्ड

news-details

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बङ्गलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोशेढुंगा भएको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०का पदाधिकारीहरूसँग आज भएको भेटमा उहाँले यस्तो धारणा राखेका हुन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा भारतीय समकक्षीसँग त्रिदेशीय विद्युत् व्यापारको सहमति गरेका थिए ।

‘भारत र बङ्गलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत् व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो’( उनले भने ‘हामीले जलविद्युत उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेश लगायतलाई देशलाई विक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौँ ।’

भारत हुँदै बंगलादेशमा विद्युत् निर्यात गर्ने र भारतलाई दश वर्षमा दश हजार मेगावट विद्युत् विक्री गर्ने सम्झौता तथा चीनमा विद्युत् निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उनले यसका लागि विद्युत् उत्पादनमा ध्यान दिनुपर्ने बताए । तर, अहिले सरकारले विद्युतको विकासभन्दा पनि भएका संरचनालाई प्रभावित गर्ने गरी हस्तक्षेप बढाएको टिप्पणी उनले गरे ।

उनले इप्पानले विद्युत् उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे । आफूले सरकारको नेतृत्व गर्दा ऐनको बाधा, राष्ट्रिय निकुञ्ज ऐन २०२९ र वनका विभिन्न मुद्दा सम्बोधन हुने गरी अध्यादेश ल्याएका ल्याए पनि अदालतले रोकेकाले यसका लागि थप लविङको आवश्यकता रहेको पनि उनले स्पष्ट गरे ।

इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत विकासमा अध्यक्ष प्रचण्डको योगदान महत्त्वपूर्ण रहेको औँल्याउँदै उनको पालामा त्रिदेशीय विद्युत् व्यापार सम्झौता, निजी क्षेत्रसँग २८ हजार मेगावाट विद्युत् उत्पादनको सहमति, लोडसेडिङ अन्त्य ऐतिहासिक कार्य भएको बताए ।

ऊर्जा विधेयक संसदमा छलफल हुन थालेको जानकारी दिँदै उनले पहिले ५० वर्षको लाइसेन्स हुने व्यवस्था रहेकोमा अहिले ३५ वर्ष प्रस्ताव गरिएको र अहिले थुप्रै फाइल थन्किएकाले यसमा प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा सहजीकरण गरिदिन अध्यक्ष प्रचण्डलाई आग्रह गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *