इभी गाडी व्यवसायीको गुनासो : ‘खरिद गर्न सजिलो, पाल्न गार्हो’

news-details

सविता नयाँजू  / नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधन(ईभी) को प्रयोग बढ्दै गएको छ । सार्वजनिक यातायातका साधनका रुपमा ‘विजुली बस’, ‘विजुली माइक्रो’ सडकमा बाक्लै हुइँकिन थालेका छन् ।

वर्षेनी ठूलो संख्यामा आयात भइरहेको विद्युतीय गाडीको प्रयोग लोकप्रिय बने पनि त्यसको व्यवस्थापनमा थुप्रै समस्याहरु देखिने गरेका छन् । चार्जिङ स्टेसनको कमी, चार्जिङ मापदण्डको अभाव, कर र ब्याट्री व्यवस्थापनलगायतका थुप्रै समस्याहरु देखिने गरेका छन् ।

सरकारले इलेक्ट्रिक बस, माइक्रो, स्कुटर ल्याउने नीति लिँदै गर्दा विद्युतीय सवारी साधन चल्न सक्ने सडक छन् कि छैनन् भन्नेबारे सोच नपुर्याएको व्यवसायीहरुको गुनासो छ ।

विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्ने सरकारको नीति सकरात्मक भएपनि व्यवस्थापन र नीतिगत सुधारमा कमजोरी भएको व्यवसायीको भनाइ छ । सामाखुसी यातायात प्रालिका अध्यक्ष सानुकाजी प्रजापती सरकारको नीतिले मात्र नहुने भन्दै पहिले सडकको गुणस्तर सुधार्नुपर्ने बताउँछन् ।

‘सरकारले अहिलेकै अवस्थामा इलेक्ट्रिक गाडी भित्र्याउनुलाई गलत भन्नुपर्छ । किनभने डिजेल गाडी जस्तो सहज इभी छैन । यात्रुहरुको लागि इभी सहज भएपनि चालक र व्यवसायीहरुलाई समस्या भएको गुनासोहरु आइरहेको छ । नेपालका सडकका कारण इभी सुरक्षित र राम्रो छैन,’ उनले भने ।

‘इभी गाडी सरकारले ल्याउने भनेर मात्र हुँदैन। चार्ज गर्ने स्टेशन पनि बनाउनुपर्छ । चार्ज गर्ने स्टेसन नहुँदा चालकहरुलाई टाउको दुखाइ भएको छ । ७५ प्रतिशत चार्ज हुनको लागि ९० मिनेट लाग्छ, चालकले रातिको १२ बजेसम्म लाइन बस्नुपर्छ । उही चालकले लाइन बसेको भोलिपल्ट बिहानैदेखि यात्रुहरु बोक्नु पर्ने हुन्छ । चार्ज गर्नको लागि १२ बजेसम्म बस्नु परेपछि कसरी काम गर्न सकिन्छ,’ प्रजापतीले प्रश्न गरे ।

हिजोआज जति विद्युतीय साधन बढेको छ सो अनुसार चार्जिङ् स्टेशन नहुँदा समस्या दिनहुँ बढ्दै गएको यातायात व्यवसायीहरुको भनाइ छ ।

आवश्यकता भएको समय गाडी चार्ज गर्न ९० मिनेटसम्म कुर्नुपर्ने, चार्ज गर्ने ठाँउमा ट्रान्स्मीटर हाल्न पनि धेरै महंगो पर्ने तर डिजेल गाडीमा पाँच मिनेटमै इन्धन भर्न सकिने प्रजापतिको भनाइ छ ।

‘व्यवसायीहरु चर्को मर्कामा छन् । यसका लागि सरकारले ठाँउ ठाँउमा चार्जिङ् स्टेशन राख्नुपर्छ । प्रर्याप्त मात्रामा चार्जिङ् स्टेशन नहुँदा समस्या दिनहुँ बढ्दो छ,’ उनले भने । साथै, सरकारले इभी गाडी चलाउनको लागि बाटो पनि सुधार गर्नुपर्ने जस्तो देखिन्छ, होइन भने केही वर्षमा सबै व्यवसायी पलायन हुने सम्भावना छ ।’

उनले भने, ‘हाल नेपाल सरकारको नीति अनुसार ९५ वटा डिजेल गाडी छन् । त्यो हटाएर हाल २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएका छौं । काठमाडौंभित्रको लागि यि गाडी राम्रो लागेको छैन, लामो दुरीको लागि पनि कच्ची बाटो छ । पछाडीको चक्का बढी चिप्लिने समस्या छ । त्यसैले इभीप्रति व्यवसायी खुशी छैनन् ।

खरिद र खर्चका हिसाबमा पनि इभी धेरै महंगो हुने गरेको छ । विगतमा डिजेल गाडी १३–१४ लाखमा आउने तर अहिले ५१ लाख बुझाउनुपर्ने अवस्था रहेको व्यवसायीको भनाइ छ । व्याज र पार्टस् महँगो परेको उनीहरुको भनाइ छ । डिजेल गाडीले भन्दा इभीमा टायर धेरै खिइने भएकाले मर्मतमा धेरै खर्च हुने गरेको पाइन्छ ।

विदेशतिर भाडाका गाडी सरकारले चलाउनुपर्ने व्यवस्था छ । व्यवसायीहरु आफैंले लगानी गरेर सेवा दिइरहेकाले इभीको भाडादर घटाउन नसकेको व्यवसायीको भनाइ छ ।

यस्तै, नेपालको पैसा नेपालमा नै राख्न इन्धनवाला गाडीलाई इभीमा परिणत गर्ने उद्देश्यले इन्जिन् निकालेर ब्याट्री हालेर चलाउन खोज्दा सरकारले नमानेको पनि प्रजापतिको गुनासो छ ।

गाडीहरुलाई फिट्नेशको आधारमा चलाउन, पाँचसात लाख रुपैयाँ खर्च गरेर राम्रो तरिकाले बनाउने हो भने सहज हुने उनको भनाइ छ । सामाखुशी यातायातका इभी गाडी काठमाडौंको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपी क्षेत्रमा सञ्चालित रहेको उनले जानकारी दिए ।

इभी गाडीहरुको अपाङ्मैत्री नभएको गुनासो आइरहेकाले त्यसमा सुधार गर्नुपर्ने प्रजापतिको भनाइ छ । प्रजापतीका अनुसार नै अपाङ्मैत्री गाडी चलाउनको लागि नेपालमा सडककै अभाव रहेको उनले दोहोर्याए ।

प्रजापतिको जस्तै अधिकांश यातायात व्यवसायीको गुनासो एकै किसिमको रहेको पाइन्छ । सवारी किन्न मात्र महँगो नहुने तर पाल्न महँगो हुने, सवारीमा प्रयोग हुने इन्धन र मर्मतमा नियमित खर्च आउने र पार्टस् फेर्नु पर्दा उत्तिकै खर्च हुने गरेको उनीहरुको गुनासो छ । विद्युतीय कार, मोटरसाइलक, स्कूटर उपभोक्ताले घरमा नै चार्ज गर्न सकिने भएपनि चार्जिङ स्टेशनको लागि विद्युत् प्राधिकरणले छुट्टै महसुल तोकेको उनीहरुको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *