ग्याङजाओ र ल्हासाका नवनियुक्त महाबाणिज्यदूतलाई हिमालय सीमापार बाणिज्य संघको सुझाव

news-details

छिमेकी मुलुक चिनको ग्वाङजाओ प्रान्तका लागि महाबाणिज्यदूतमा नियुक्त भरत खनाल र ल्हासा प्रान्तका लागि महाबाणिज्यदूतमा नियुक्त लक्ष्मीप्रसाद निरौलालाई नेपाल हिमालय सीमापार वाणिज्य संघले बधाई तथा शुभकामना ज्ञापन गर्दै सुझावपत्र प्रदान गरेको छ ।

संघको कार्यालयमा आज आयोजित बधाई तथा शुभकामना कार्यक्रममा संघका अध्यक्ष रामहरी कार्कीले महाबाणिज्यदूत खनाल तथा निरौलालाई सफल कार्यकालको शुभकामना दिदै चिनबाट नेपालमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरुका समस्या र त्यसको समाधानका लागि सुझाव पत्र प्रस्तुत गरेका थिए ।

अध्यक्ष कार्कीले द्धिपक्षीय व्यापार विस्तार, नेपालबाट चिन निकासी गराउन सकिने नेपाली उत्पादनका लागि गैर भन्सार अवरोध न्यूनिकरण, पारवहन तथा यातायातको सहजीकरण, बजार प्रवद्र्धन, व्यापारी तथा उद्यमीका लागी नेतृत्वदायी भूमिका, नेपााली नागरिकले चिनमा भोग्नुपरेका समस्या समाधानको लागि पहल तथा ढुवानी सहजिकरणलगायतका विषय समेटेर महाबाणिज्यदूत खनाललाई सुझावपत्र प्रदान गरेका हुन ।

कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले बाढीपहिरोका कारण चिनसँगको सीमा नाका जोडने राजमार्गहरु अवरुद्ध भएकोमा भर्खरै अस्थायीरुपमा यातायात सुचारु गराइए पनि यसको दिर्घकालिन समाधानका लागि सरकारलाई पहल गरिएको बताए ।

व्यवसायीहरुका हकहित तथा समस्या समाधानमा संघ सधै प्रतिवद्ध भएर लागिरहेको बताउदै अध्यक्ष कार्कीले व्यवसायीहरुका कुनै समस्या भए महाबाणिज्यदूतावासमा जानकारी गराउने तथा सहकार्य गरेर गर्नुपर्ने कुनै काम भए संघ त्यसका लागि तत्पर रहेको बताए ।

यस्तै संघका बरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमिरेले ग्वाङजाओ चिनबाट नेपाल सामान आयत–निर्यात गर्ने मुख्य हब भएकाले ग्वाङजाओमा रहेको नेपाली महाबाणिज्यदूतावासले दुई देशबीचको व्यापारका लागि सहजिकरण गरिदिनुपर्नेमा जोड दिए ।

उनले छोटो समयका लागि चिन जाने व्यापारी व्यवसायीहरुले बैंक खाता खोल्न नपाउने हुदा पेमेन्टमा समस्या रहेकोले यसबारे चिनिया पक्षसँग पहल गरिदिन पनि महाबाणिज्यदूत खनाललाई आग्रह गरे । यस्तै घिमिरेले अब चिनबाट आयात मात्र होइन निर्यातको वातावरण बनाउन पनि आग्रह गरे ।

संघका उपाध्यक्ष भरत कार्कीले मालसामान ट्रान्सफरमा पठाउदा बिचमै भिजेर आउने तथा बिचमा कहिलेकाही हिउले सामान ड्यामेज हुदा नोक्सानी व्योहोर्नुपर्ने अवस्था रहेकाले ट्रान्सफर तथा इन्सुरेन्सलाई थप जिम्मेवार बनाउन पहल गरिदिन आग्रह गरे ।

यस्तै संघका महासचिव रामचन्द्र पराजुलीले छोटो समयका लागि चिन जानेहरु पर्यटकझै होटलमै बस्नुपर्ने हुदा अपार्टमेन्ट या कम मुल्यका कोठामा पनि बस्न पाउने व्यवस्थाका लागि पहल हुन सके धेरै राहत मिल्ने बताए ।

साथै उनले ग्वाङजाओमा हरेक वर्ष हुने ट्रेड मेलामा नेपाली सामाग्रीको पनि प्रर्दशनी गर्न सकिए नेपाली प्रोडक्टको पनि बजार प्रवद्र्धन गर्न सकिने सुझाव महाबाणिज्यदूत खनाललाई दिए ।

संघका सचिव आङदोर्जे शेर्पाले उत्तरी नाकाबाट जिर्ण सडकमार्गका कारण व्यापारी व्यवसायीहरुले सामान ढुवानीमा धेरै नै समस्या भोग्नुपरेको बताए ।

कार्यक्रममा बोल्दै महाबाणिज्यदूत खनालले चिन नेपालको सबैभन्दा पुरानो व्यापारिक साझेदार भएकाले नेपाल चिनबीचको व्यापार व्यवसायमा सहजता ल्याउन आफुले सक्दो पहल गर्ने बताए । उनले दुई देशबीच व्यापार सहजताका लागि महत्वपूर्ण सम्झौताहरु भएका र त्यसलाई कार्यान्वयन गर्न नै आफुहरुलाई महाबाणिज्यदूतको जिम्मेवारी दिएर पठाएको भन्दै यसप्रति प्रतिवद्ध भएर काम गर्ने बताए ।

सो अवसरमा उनले हिमालय सीमापार बाणिज्य संघले प्रदान गरेको सुझाव तथा सल्लाहप्रति आफु गम्भिर रहेको बताउदै आगामी दिनमा व्यापारी व्यवसायीले भोग्दै आएका समस्या, समस्या समाधानका लागि सुझाव तथा महाबाणिज्यदूतावासले गर्नु पर्ने पहल र सहयोगको बारेमा झकझकाई राख्न आग्रह गरे ।

यस्तै कार्यक्रममा चिनकै ल्हासा प्रान्तका लागि नवनियुक्त महाबाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाल चिनबीचको सम्वन्ध तथा व्यापारलाई थप विस्तारित बनाउदै यसबाट जतिसक्दो धेरै नेपालले कसरी फाइदा लिन सक्छ भन्नेमा आफुहरु प्रतिवद्ध रहेको बताए ।

उनले चिनको कुन कुन क्षेत्रमा व्यापार व्यवसाय तथा आयात निर्यातका लागि सम्भाव्यता छ, यसबारे के गर्न सकिन्छ तथा के पहल गर्नुपर्ने हो त्यसबारे सुझाव पाए आफुहरु त्यसका लागि तत्पर रहेको बताए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *