खस्कियो दशैं बजार, उत्साहित छैनन् व्यापारी
- अशोज १८, २०८१
- 0
प्रमीला कार्की/ काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको किनमेल गर्नेको संख्या घटेको व्यापारीहरुले दुखेसो गरेका छन । दशैंको मुखमा अविरल बर्षापछि आएको बाढी पहिरोका कारण गाउँ जानेहरुको संख्या घटेसँगै व्यापार पनि घटेको व्यापारीहरुको भनाइ छ ।
बाढी पहिरोअघि दशैं बजार विस्तारै बढेपनि राजमार्गहरु अवरुद्ध भएपछि भने व्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ । उपत्यकाका मुख्य बजारहरु असन, न्युरोड, महाबौद्ध, भोटाहिटी, ललितपुरको मंगलबजार, लगनखेल, भक्तपुरको मुख्य बजार क्षेत्रमा किनमेल गर्नेहरुको संख्या विगतको तुलनामा कम देखिएको छ ।
असनका व्यापारी लक्ष्मण भुषालले पहिलेको तुलनामा यसबर्ष व्यापारमा ह्वात्तै कमी आएको बताए । ‘आर्थिक मन्दी त छँदै थियो, त्यसबीचमा बाढी पहिरो आयो । राजमार्ग अवरुद्ध भएपछि सामान आइपुग्न सकेन । अर्डर गरेको सामानहरु बाटोमै अलपत्र परेको छ । नेपालमा पैसा कमाउने वातावरण नै छैन् । देशसँग नै पुँजी छैन् । विदेशबाट कमाएर ल्याएर किनमेल गर्नुपर्ने छ र यही पैसा कमाएर खुलेर सपिङ गर्ने अवस्था देखिएको छैन,’ उनले भने ।
काठमाडौं महानगरमा फुटपातका पसलहरु हटेका कारण पनि बजार खस्किएको व्यापारीहरुको भनाइ छ । ‘पहिले –पहिले पसलका सामानहरु फुटपातका व्यापारीले उठाइदिन्थे । अहिले त्यस्तो छैन । किनमेल गर्न आएकाहरु पर्यटकजस्ता छन् । भीडभाड नै छैन । सामान डेलिभर गर्न पनि एक हप्तासम्म लाग्ने गरेको छ,’ असनकै अर्का व्यापारीले भने ।
काठमाडौं उपत्यकाभित्रका पसलहरुमा ७० प्रतिशतले व्यापार घटेको उनीहरुको भनाइ छ । विगतका वर्षहरुमा जस्तो यस वर्ष आर्थिक मन्दी र बाढी पहिरोको दुवै प्रभावले ब्यापार घटेको व्यापारीहरुको भनाइ छ । दशैं लागेसँगै बजारमा ग्राहकहरु बढ्ने र व्यापारीहरुलाई केही राहत मिल्ने आशा भएपनि बाढी पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरे ।