व्यापारी घरैमा किन्न आउन थालेपछि रामेछापमा उवा खेती बढ्दै

news-details

बजारमा उच्च माग भएपछि रामेछापका किसान उवा खेती विस्तारमा लागेका छन् ।

विगतमा गहुँ र जौ खेती लगाउने किसानहरू केही वर्ष यतादेखि उवा खेती लगाउन लागेका छन् । ‘पहिला उवा कसैले लगाउँदैनथे, सबैले गहुँ वा जौ लगाउँथे, अहिले सबैले उवा नै लगाउन लागेका छन्’, रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीका मानबहादुर मगरले भने ।

अचेल किसानले लगाएको उवा किन्न व्यापारीहरू घर घरमा पुग्छन् । गहुँ, जौ वा मकैको भन्दा उवाको बजार मूल्य राम्रो छ । त्यसैले किसानको ध्यान उवा खेतीतर्फ गएको हो ।

‘गहुँ र मकै १ सयदेखि १ सय ५० रुपैयाँ पाथीमा बिक्री हुन्छ, उवाको पाथीकै ४ सय रुपैयाँसम्म आउँछ, गहुँ र मकैभन्दा उवाबाट राम्रो कमाइ हुन्छ’, मगरले भने ।

अहिले हिलेदेवीका अधिकांश किसानले बारीमा उवा छरेका छन् । एकै किसानले वार्षिक एक लाख रुपैयाँसम्मको उवा बिक्री गर्छन् ।

‘उवाको भाउ राम्रो छ, बिक्री पनि तुरुन्तै हुन्छ, त्यसैले सबैले उवा लगाउन लागेका छन्, धेरै लगाउनेले त वर्षको एक लाख रुपैयाँभन्दा बढीको बिक्री गर्छन्, कमै लगाउनेले पनि ४०–५० हजारको उवा बेच्छन्’, मगरले भने ।

मानिसले खेती गरेका बालीमध्ये उवालाई सबभन्दा पुरानो बाली मानिन्छ । गहुँजस्तै देखिने उवा कात्तिक महिनामा छरिन्छ र जेठ, असार महिनातिर पाक्छ ।

पौष्टिकताको हिसाबले उवामा भिटामिन ‘बी कम्प्लेक्स’ पाइन्छ । उवाको सातु, खोले, ढिँडो, रोटी वा च्याँख्ला जे पनि खान सकिन्छ । जे खाए पनि यो अन्य खाद्य बालीभन्दा निकै पोषिलो हुन्छ । उवामा चामल, गहुँ वा मकैमा पाइनेभन्दा धेरै बढी पोषण तत्व पाइने पोषण विज्ञहरू बताउँछन् ।

बियर बनाउने तत्व ‘माल्ट’ बनाउन पनि उवा प्रयोग हुने गर्दछ । पछिल्लो समय बियर बनाउन कारखाना बढेसँगै सहरमा उवाको माग पनि निकै बढेको छ । त्यसैले गाउँमा उत्पादन हुने उवा सोझै सहर भित्रने गर्दछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *