व्यापार विस्तार र आम्दानीमा सुधार हुँदै गएको नेपाल वायुसेवा निगमको दावी
- साउन १, २०८०
- 0
नेपाल वायुसेवा निगमले निगमको व्यापार विस्तार र आम्दानीमा विगतको वर्षको तुलनामा सुधार हुँदै गएको दावी गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै निगमले विमान किन्न लिएको ऋणको ठूलो रकम पनि भुक्तानी गरेको उल्लेख गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएको दुई न्यारोवडी र दुई वाइडवडी जहाजको लागि लिएको ऋण दायित्वको २०८० सालको असार महिनाको किस्ता वापत असार ३१ गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ८३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै निगमले यस अघि २०७९ साल असारदेखि चैतसम्ममा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८ सय ४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको जनाएको छ । नियमित र आकस्मिक ( चरासँग ठोक्किने र प्राविधिक गडबडी ) रुपमा हुने जहाज मर्मत सम्भार खर्च प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार भइरहेको निगमले जनाएको छ ।
यस्तै निगमले अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक श्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरि निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजना समेत अघि बढाएको बताएको छ ।
यसैबीच आफ्ना दुइटा न्यरोबडी विमान चरासँग ठोक्किएका कारण ग्राउन्डेड गर्नुपरेको कारण देखाउँदै यात्रुसँग माफी मागेको छ ।
निगमद्धारा जारी विज्ञप्तिमा दुईवटा विमान एकैसाथ ग्राउन्डेड हुँदा पूर्वनिर्धारित उडान सञ्चालन हुन नसक्दा यात्रुसँग क्षमायाचना गरेको हो ।
निगमले ग्राउण्डेड भएको न्यारोबडी विमान मध्ये नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की जहाज भने आज बेलुकीबाट सञ्चालनमा आउने पनि जनाएको छ ।