शुरु भयो ‘प्रथम ललितपुर जुत्ताचप्पल व्यापार मेला’ जावलाखेलमा, १० ब्राण्डका ५ हजारभन्दा बढी मोडल उपलब्ध
- रोजगारमञ्च
- जेष्ठ १७, २०८०
- 0
ललितपुरको जावलाखेलस्थित खेल मैदानमा ‘प्रथम ललितपुर जुत्ता चप्पल ब्यापार मेला २०८०’ बुधबारबाट सुरु भएको छ ।
नेपाली जुत्ताचप्पल उत्पादक समुहको आयोजनामा शुरु भएको मेलाको उद्घाटन ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले गरेसँगै मेला शुरु भएको हो । ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारासहित शुरु भएको मेलामा प्रख्यात नेपाली ब्रान्डका जुत्ता चप्पल उपलब्ध रहेका छन् ।
मेलामा नेपालका चर्चित १० वटा ब्राण्डका ५ हजारभन्दा बढी मोडलका जुत्ताहरु पाउन सकिने जनाइएको छ ।
एक महिनासम्म चल्ने मेलाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले स्वदेशी उत्पादनका जुत्ताचप्पलको मेला ललितपुरमा गरेकोमा आयोजकलाई धन्यवाद दिदै महानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने–‘ अहिले पहिलो पटक ललितपुरमा जुत्ताचप्पल मेला आयोजना भएको छ, अव दोश्रो,तेश्रो मेला पनि गर्न सक्नुहोला, महानगरपालिकाले सहयोग गर्नेछ ।’ उनले स्वदेशी उत्पादनका जुत्ताचप्पलको प्रवद्र्धनमा स्थानीय तहले आवश्यक सहयोग गर्नु पर्ने औल्याउँदै जुत्ताचप्पलको क्षेत्रमा आत्मनिर्भर भएकोमा खुशी व्यक्त गरे ।
नेपाली जुत्ता चप्पल उत्पादक संघका अध्यक्ष नानीराज घिमिरेले ग्रे मार्केटका कारण नेपाली जुत्ता उत्पादकहरु मार्कामा रहेको गुनासो गरे । कार्यक्रममा बोल्दै उनले भने, ‘कोरोना महामारीका कारण हामी धेरै नै प्रभावित भएका छौ, करोडौंका जुत्ता कहाँबाट बजारमा आएको छ भनेर कुनै तथ्यांक नै छैन । ग्रे मार्केटका कारण हामी मार्कामा छौं ।’
अध्यक्ष घिमिरेले ५५ हजार जनालाई नेपाली जुत्ता व्यवसायीले रोजगारी दिइरहेको जानकारी दिदै सरकारले थप प्रोत्साहन र हौसला दिने हो भने नेपाली उत्पादकले ७५ हजारभन्दा बढिलाई रोजगारी दिन सक्ने बताए ।
त्यस्तै एशोसियशनका पूर्वअध्यक्ष होमनाथ उपाध्ययले भृकुटीमण्डपमा स्वदेशी जुत्ताको नाममा बाह्रै महिना स्वदेशी तथा विदेशी जुनसुकै जुत्ता बिक्री हुने भइरहकाले त्यसलाई चिर्नको लागि र फरक धारबाट पहिचान गराउने उद्देश्यका साथ मेला आयोजना गरिएको जानकारी दिए ।
‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त मेलामा २० देशि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ भने हरेक जुत्तामा ६ महिनाको ग्यारेन्टी र यदि जुत्ता बिग्रिएको भए एक हप्ताको समयावधिमा साट्ने सकिने व्यवस्था रहेको छ । मेलामा ५ हजार भन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुनेछन् । मेला बिहान ९ बजे देखि वेलुकी ७ः०० बजेसम्म चल्ने आयोजकले जानकारी दिएका छन ।
मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरु किरण शुज म्यानुफ्याक्चर्सको उत्पादन– गोल्डस्टार, रोयल शु इन्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेस फुटवेयरको उत्पादन – बीएफ डियर हिल र बीएफ स्पोर्ट, लालिगुराँस फुटवेयरको– क्रस रोड शुज, शुभकामना फुटवेयरको– फस्टवाक शुज, नमस्ते फुटवेयरको– सिल, सुरभी पोलिमर्सको– हाई लाइफ, केटीएम शुजको –केटीएम, डीजे शुज कम्पनीको– डीजे शुज गरी नौवटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहने बताइएको छ ।