जनजिवन : ‘ठेला–गाडाकी विष्णु’को अर्थतन्त्र
- बिन्दु अधिकारी ढकाल
- जेष्ठ ६, २०८०
- 0
नेपालको करिब दुई तिहाइ भूमि पहाडले ढाकेको छ । चुरेबाहेकका अजङ्गका पहाड हामीसँग धेरै छन् । त्यहाँभित्र विभिन्न प्रकारका बहुमूल्य धातु, पत्थर, असङ्ख्य खनिज र मूल्यवान चुनढुङ्गा कति होलान् ? खोज्न सके । प्रयास गर्न सके । सडक, सडक–पेटी, घर र अन्य भौतिक संरचना बनाउन मिल्ने ती ढुङ्गाको उत्खनन् कहिले गर्ने ? कसले गर्ने ?
नेपाल कृषि प्रधान देश हो । यहाँ करिब ६५ प्रतिशत जनतालाई कृषि क्षेत्रले रोजगारको अवसर प्रदान गरेको छ । जनताको मिहिनेत र परिश्रमले देशको कुल ग्राहस्थ उत्पादनमा करिब २७ प्रतिशत हिस्सा ओगटेको छ । रोजगारको अपार सम्भावना अनि कुल ग्राहस्थ उत्पादनमा यति धेरै योगदान पु¥याउने कृषि क्षेत्र राज्यको प्राथमिक चासोमा पर्न नसक्नु अत्यन्त दुःखद् कुरा हो ।
नेपालमा प्रजातन्त्र पुर्नस्थापना भयो । लोकतन्त्र/गणतन्त्र स्थापना भयो । नयाँ संविधान निर्माण भएर देशमा सङ्घीयतासमेत लागू भयो । उसो त स्थानीय तहलाई पनि कमजोर आँक्न मिल्दैन । यसरी ६० को दशक जति सम्झनलायक बन्यो, तुलनात्मक परिणाम ठीक उल्टो भयो । भूकम्प, नाकाबन्दी र कोरोना सङ्क्रमणबाट जेजति क्षति भयो, ७० को दशक त्यति नै बिर्सनलायक बन्यो । हो, लामो सङ्क्रमणकालपछि राजनीति वृत्तमा स्थिरता कायम होला र मुलुकले विकासको बाटोमा पाइला चाल्ला भनेर जुन जन अपेक्षा थियो । त्यो उत्साह दशकको पछिल्तिर भने विस्तारै कमजोर बन्यो ।
नेपालका उद्यमी, व्यवसायि र उपभोक्ताको हीतका लागि सरकारबाट ठोस रचनात्मक आर्थिक कदमको अपेक्षा छ, हुन्छ । यो अस्वभाविक होइन । मुलुकको अर्थतन्त्रलाई चाहिने कूल पुँजीको दुई तिहाई निजी क्षेत्रले लगानी गर्छन् । यो पनि सत्य हो तर अर्थतन्त्र सुधारका लागि सरकारबाट के प्रयत्न भयो ? अथवा, भइरहेको छ ? सम्वन्धित निकायले यस विषयमा कुनै चासो लिएजस्तो लाग्दैन ।
हिजोआज बजारमा मन्दी छ । सामान्य नागरिकले समेत यो कुरा महसुस गरेका छन् । व्यापारी–व्यवसायीमा उत्साह छैन । यो गर्छु, त्यो थाल्छु भन्ने कुनै उमङ्गले उनीहरुलाई छोएन । वर्तमान समय यस्तो आयो कि, छोइनसक्नु बजार भाउलाई थेगेर कसरी बाँच्नु ? भन्ने अवस्था छ । देशमा यस्तो अवस्था हुदा पनि राजनीतिक दलहरु भने सरकार बनाउने र गिराउने खेलमा मात्र केन्द्रित छन् । ‘के गर्नेलाई भन्दा देख्नेलाई लाज’ भने जस्तो यस्तो तरिकाले कसरी आउँछ अर्थतन्त्रमा सुधार ? जटिल प्रश्न उब्जिएको छ ।
औद्योगिक उत्पादनमा बृद्घि ल्याएर देशमै रोजगारका अवसरहरु सिर्जना गर्ने कामका लागि यो दशकलाई हामीले गुमायौँ । बितेको समय फर्केर आउछ ? कदापि आउँदैन ।
विगतलाई सम्झेर हारगुहार कोहोलो गर्नु कुनै औचित्य छ ? छैन । नीतिगत अस्पष्टताका कारण नेपालको उच्च शिक्षा ध्वस्त भयो । स्कुल स्तरको पढाइ यति महङ्गो छ । अनि, स्वास्थ्य उपचार ? सर्वसाधारण जनताले खप्नु परेको सास्तीको कुनै लेखाजोखा नै छैन । के हो अनुगमन भनेको ? त्यसको बेग्लै कथा छ ।
आज गाउँ रित्ता छन् । विदेश पलायन दिन दुगुना रात चौगुनाको अवस्थामा छ, यो स्थिति आखिर कसले बनायो ? कोहो यसको नायक । मेरो यो जिज्ञासा मात्र नभएर देश हाक्छौ भन्नेहरुलाई प्रश्न पनि हो । र समाज परिवर्तन गर्छौँ भन्नेहरुलाई पनि प्रश्न हो । ‘भाषणले पेट भरिन्न, राष्ट्रघाती धोकेवाजहरु हो’ भन्न मन छ । आखिर बाँच्ने अधिकार सबैको छ, हुनुपर्छ । को सानो ? को ठूलो ? तर, तीतो यथार्थ निम्न आयस्रोत हुनेहरुको जीवन निर्वाह निकै कठिन रहेको ठहर भइसक्यो यहाँ । यस्तै अथाह वेदना भित्रको एक स्वर हुन् विष्णु वाइवा । सुनौँ उनका कुरा ।
‘मेरो नाम विष्णु वाइबा हो । मैले तरकारी बेच्न थालेको दुई वर्ष भयो । पहिला घरायसी काम गर्थे दुई तीन वटा घरमा, तर अहिले यौटामा मात्र गर्छु । मुखले बोलेजस्तो सजिलो हुदैन, काम गर्न । फेरि, काम गर्छु मात्र भनेर भएन । मेलो गर्न पक्का छु, गर्न सक्छु भनेर विश्वास दिलाउन पनि सक्नु पर्यो । यसकारण समयले नभ्याउने अठोट गर्नुहुँदैन ।
काभ्रेपलाञ्चोक जिल्लाको शङ्खु घर हो मेरो, माइत चाहिँ दाप्चा । बच्चा बेला स्कुल गइयो तर पढ्न पाइएन । घरमा धेरै काम हुन्थ्यो । वस्तुभाउको चाकर भन्यो । मेलापर्म खेतबारीको काम भन्यो । अनि, घरधन्दा । भाइबहिनी पढ्न जान्थे । उनीहरु सबै हिँडेपछि बुवाआमालाई कसले सघाउने ? अर्को कुरा पढेर के हुन्छ ? भन्ने लाग्थ्यो । शिक्षाप्रति चेतनाको कमिले गर्दा पनि अक्षर छिचोल्नै पर्ने रहेछ भन्ने किसिमको हुटहुटी जागेन ।
२४ वर्षमा बिहे गरेँ । जोडी नै काठमाडौं आयौँ । हाम्रो लभ म्यारिज हो । वर्ष दिनमा बच्चा जन्मियो, छोरा । बाबु अहिले १६ वर्षको भयो । भाइ चै ११ वर्षमा हिँड्दै छ । कोरोना कालमा जन्मेकी छोरी अढाइ वर्ष पुग्न लागिन् । सन्तान थप्न इच्छा थिएन तर छोरीलाई यस धर्तीमा जन्मन लेखेको रहेछ, टार्न सकिएन । बाबुहरु बोडिङ स्कुलमा पढ्छन् । सरकारीमा भन्दा त्यताको पढाइ राम्रो अरे । नेपालको शिक्षा स्कुल फी तिर्नै चर्को । कलेज झन् कस्तो होला ?
आफ्नो दुःख कसलाई भन्नु ? यहाँ सुन्नेले उल्टै मजाक उडाउछन् । गाउँमा त्यो बेला भाइलाई पढाएको हुनाले कोरिया जान सक्षम भयो । त्यताको भाषा सिकेर गाको हुनाले विदेशी पैसाले काठमाडौंमा घर बनायो । बुवाआमा दाप्चामै हुनुहुन्छ । अरु छोराहरु पनि आ–आफ्नो व्यवहार गर्छन् तर बुढाबुढीको दुःख फेरिएन ।
केही वर्षदेखि बहिनीको छोरा पनि मसँगै छ । तीनै भाइ सँगै पढ्न जान्छन् । उही स्कुलमा । बहिनीले छोराको स्कुल फी पठाउँन सक्दिन दिदी भन्छे । ऊ भन्छे, सके पढाउ नसके कुनै काम सिकाऊ । के सिकाऊ ? सानै छ । यो उमेर पढ्ने समय हो । आमाले भन्नुहुन्छ, ‘उपकार गरियो भने धर्म लाग्छ, कमाइन्छ । बहिनीको छोरा पनि तेरै छोरा हो । पछि, वातावरण दिएन भन्ने गुनासो नहोस्’ यसो भनेपछि के गरौँ ? यहाँ आफ्नै दुःख कहाँ भाग लगाऊ भएको छ । सायद यसैलाई भन्छन्, जहाँ सारो त्यहाँ गारो ।
हामी तामाङ जातको भएपनि श्रीमान् जाड–रक्सी खानु हुन्न । उहाँ प्राइभेट गाडी चलाउनु हुन्छ । महिनाको २० हजार तलब छ । १४/१५ हजार त कोठा भाडा तिर्नुपर्छ । स्कुले छोरा, काखे छोरी । बढ्ने पढ्ने उमेर । कहिले के माग्छन् । कुनै ठाउँ घुम्न जाउँ भन्छन् । स्कुल फी बुझाउनुकी, उनीहरुको माग पुरा गर्न तिर लागौँ ? कापी, किताब, झोला, स्कुल डे«स, दिउँसो टिफिन खाने पैसा । ए, हजुर ! खर्चको सीमा छैन ।
कहिले तरकारी बिक्दैन । बच्चा सानो हुनाले ठेला–रिक्सा घुमाउन भ्याउँदिन । आज नबिकेको सब्जी भोलि बेचौ भन्यो बासी कसैले किन्दैन । थोरै पैसामा सामान ल्याउला भनेर नचिताए हुन्छ । एक पटक होलसेल जाँदा ३ हजार ३५ सय नबोके सामान आउदैन । कहिले कालिमाटी जान्छु, कहिले जडिबुटी त कहिले तीनकुने पुग्छु । एक छाक खाएर नहुने रहेछ, फाइनान्सबाट ऋण निकालेर पनि घर व्यवहार गर्नुपर्छ । त्यस्ता मोड जीवनमा धेरै आए ।
केटाकेटीको उपद्रो त्यस्तै हुन्छ, अस्ति भर्खर छोराले हात भाँच्यो । उपचार गर्न ऋण नझिकि धर पाइएन । यहाँ मान्छेहरु कुरा गर्छन्, उपत्यकाका एक तिहाइ सटर खाली भए अरे । पढ्न, व्यापार–व्यवसाय गर्न र जागिर खान ७७ वटै जिल्लाका मानिस बस्ने ठाउँ काठमाडौं शहर हो । कोरोनाको असर त थाहा भयो नै तर यो रुस–युक्रेन युद्घका कुराले विश्वको अर्थतन्त्र ध्वस्त भयो भनेको सुने पनि चुरो कुरो चाहिँ बुझ्नै सकिन ।’
राष्ट्रिय व्यवसायी महासंघका अनुसार मुलुकभर ३० देखि ३५ प्रतिशत सटर बन्द भएका छन् । पछिल्लो समय आर्थिक गतिविधि सुस्त गतिमा चलायमान हुँदाको परिणाम हो यो । विष्णु वाइबा जो एक साधारण महिला हुन् तर कामको हिसाबमा उनीसँग असाधारण क्षमता रहेछ । श्रमकी पूजारी उनको परिचय घरको चुलाचौकादेखि सडक व्यापारी मात्रै लेख्दा अधुरो हुन्छ । गृहिणीकी ‘सशुल्क’ सहयोगीलाई हाम्रो तर्फबाट सलाम ! एउटा परिवार सञ्चालन गर्न कति व्यवधान झेल्नु पर्छ ? कसैसँग पैसा होला तर कहाँ र कसरी खर्च गर्ने ? सामथ्र्य हुदैन । कतिसँग यथेष्ट सम्पत्ति नहोला तर श्रम गर्ने आँट, साहस अनि, धैर्यता छ ।
यो लेख लेख्नु केही दिन अघि मात्रै मैले विष्णुलाई चिनेको हो । अर्थ र रोजगार मासिकका लागि उनीसँग अन्तरङ्ग कुराकानी गरेको हो तर उनका साथीहरुले नगरपालीकाको मानिस वा पत्रकार जो होस् किन बोल्यौ ?, किन आफ्ना कुरा भन्यौ ? अब हामीलाई यो खुल्ला ठाउँमा व्यापार गर्न दिदैनन्, हेर्दै गर ! भनेर उनको झाको झारेछन् । उनले सुटुक्क मसँग दुःखेसो पोखिन् । एउटा खुला किताब जस्ती विष्णुकाबारे म किन नराम्रो सोचौँ ?
अनेक तरह श्रम गरेर जीवीकोपार्जन गर्ने विष्णु त एक प्रतिनिधि पात्र मात्रै हुन् । यहाँ कति विष्णुहरु छन्, जो शहरमा चोक–चोक र गल्लि–गल्लिका सडक किनारामा गुजाराका लागि विभिन्न काम गरिरहेका छन् । उनीहरुसँग सटर भाडामा लिएर काम गर्ने सामथ्र्य छैन, तर बाँच्नु र बचाउनु छ । कर्मठ यिनीहरुको अर्थतन्त्र बुझिदिने निकाय कहाँ छ ? सरकारसँग मेरो प्रश्न छ !