आन्तरिक उडानका लागि दुईवटा जहाज किन्ने तयारीमा वायुसेवा निगम
- बैशाख २८, २०८०
- 0
नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि मध्यम खालका जहाज खरिद गर्ने भएको छ। निगमले शहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने ५६ देखि ७२ सिटे जहाज ल्याउन लागेको हो।
दुई जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उप समितिले प्रतिवेदन पेश गरिसकको छ।
निगमका प्रवक्ता रमेश पौडेलले नेपालको प्रादेशिक (अन्तर प्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले शहरी क्षेत्रका एयरपोर्टमा उडान गर्न सक्ने जहाज खरिद कार्ययोजना अघि बढाएको जानकारी दिए।
उनकाअनुसार जहाज खरिद अघि बढाउन निगम व्यवस्थापनको उप समितिले प्रतिवेदन पेश गरिसकेको छ।
यथाशक्य छिटो त्यस्ता जहाज खरीद गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा वैशाख २६ गतेको सञ्चालक समितिको बैठकले उपसमिति गठन गरेको छ।
बैठकले निगम सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ। उक्त उपसमितिले २१ कार्यदिन भित्र प्रतिवेदन बुझाउने गरी कामसमेत सुरू गरिसकेको छ।
जहाजहरू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियमानुसार पारदर्शी रुपले खरिद गरिने बताएको छ।
प्रवक्ता पौडेलकाअनुसार जहाज खरिदपछि अन्तरदेशीय पर्यटन प्रवर्द्धन हुनेछ। निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर घट्ने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने पौडेलले बताए।
निगमले दुई जहाज खरिद गरेपछि काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायत शहरी क्षेत्रबाट प्रादेशिक उडानबाट अझै धेरै यात्रुलाई सेवा प्रदान गर्नेछ।
निगमसँग हाल ३ वटा ट्विनअट्टर जहाज मात्रै रहेका छन्। यीमध्ये एउटा लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छ। अन्य दुईवटाले सातामा २८ वटा उडान भरिरहेका छन्।
निगमले दुर्गम क्षेत्रका विमानस्थलमा उडानको लागि स्टोल ९सर्ट टेक अफ एन्ड लेन्ड० जहाज खरिद गर्ने योजना सार्वजनिक गरिसकेको छ।