नेपाली होटल व्यवसायी संघको व्यवसायीक एकता अभियान सम्पन्न, एकैदिन ५७ जना सदस्य थपिए

news-details

नेपाली होटल व्यवसायी संघले अन्तरक्रिया एवं व्यवसायीक एकता अभियान सम्पन्न गरेको छ ।

काठमाडौंको सामाखुसीस्थित स्काई पार्टी भेन्युमा आयोजित व्यवसायीक एकता अभियान कार्यक्रममा टोखा नगरपालिका वडा नंं. ९ का वडाअध्यक्ष रामभक्त घिमीरेको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सभापतित्व संघका अध्यक्ष गणेश ढकालले गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै वडाअध्यक्ष घिमिरेले केहि व्यवसायीहरुका कारण सम्पूर्ण होटल व्यवसायको क्षेत्रनै बदनाम हुनुपरेको भन्दै व्यवसायीहरुले मर्यादित रुपमा आफ्नो पेशा सञ्चालन गरेमा आफूले जस्तोसुकै परिस्थिमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संस्थामा आवद्ध व्यवसायीहरुको ध्यानाकर्षण गराउँदै वडाअध्यक्ष धिमिरेले व्यवसायीहरुले पनि आफ्नो उत्तरदायित्व पुरा गर्नुपर्ने बताए । उनले सबै व्यवसायीहरुलाई आफ्नो व्यवसायमा तत्काल डिजिटल बोर्ड राखेर त्यहाँ संचालकको नाम, सदस्यता नम्बर र फोन नम्बर समेत राख्न सुझाव दिएका थिए ।

त्यस्तै कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपालले वागमती प्रदेशका १३ वटै जिल्लामा रहेका होटल व्यवसायी तथा पर्यटन व्यवसायीका समस्याहरु समाधानका लागि सबै व्यवसायीहरु एकजुट हुन जरुरी रहेको बताए । उनले व्यवसायीहरु टुटेर होइन एकत्रित भएर लागेमा मात्र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सकिने बिचार व्यक्त गरे ।

जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष शैलेश कार्कीले व्यवसायीको हकहितका लागि आफूहरुले धेरै कामहरु गरेको बताए । उनले आगामी दिनहरुमा होटल व्यवसायको क्षेत्र भित्र हुने विकृति विसंगतिहरुलाई हटाउदै जान सबै व्यवसायीहरुलाई आग्रह समेत गरेका थिए ।

कार्यक्रममा नेपाली होटल व्यवसायी संघका अध्यक्ष गणेश ढकालले होटल व्यवसाय क्षेत्रभित्र देखिएका विकृतिहरु हटाई समस्या समाधान गर्न आफू कटिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाउँदै व्यवसायीक हकहितका लागि आफुले बुलन्द आवाज उठाउने बताए ।

उनले नेपाली होटल व्यवसायी संघले सधैं पारदर्शी भएर काम गरेको बताउँदै संघले गरेका काम र संघको आर्थिक विवरण जुनसुकै सदस्यले पनि आएर हेर्न सक्ने जानकारी दिए । ‘संस्थाको हितविपरित १ रुपैया मात्र तलमाथि भयो भनेपनि त्यसको जिम्मेवारी लिन म तयार छु’ अध्यक्ष ढकालले भने ।

सामुदायिक सेवा केन्द्र गङ्गबुका अध्यक्ष केदारनाथ पाठकले होटल व्यवसाय क्षेत्रमा भएका विकृति विसंगति हटाउनका लागि वडाअध्यक्ष, होटल व्यवसायी संघ, सटर व्यवसायी संघ, महिला उपकार संघ सबै सस्थाहरुसँग हातेमालो गरेर लाग्नुपर्ने बताउदै होटल क्षेत्रमा भएका समस्या समाधानका लागि सामुदायिक सेवा समितिको कार्यसमितिको तर्फबाट सधैं सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा (शेरु)ले नेपाली होटल व्यवसायी संघले गरेको कार्यको प्रसंसा गर्दै आगामी दिनहरुमा पनि होटल क्षेत्रमा रहेका विकृति विसंगति हटाउँदै व्यवसायीका समस्या समाधान गर्नका लागि महासंघको सधैं साथ र सहयोग रहने जानकारी दिए ।

संघमा भर्खरै प्रवेश गरेका नवसदस्य शान्तिराम न्यौपानेले आफू १० वर्षदेखि आवद्ध भएको संस्थामा संस्थागत सुशासनलाई भंग गर्ने कार्य भएको, संस्थाको आर्थिक पारदर्शिता नभएको, आधारभूत मुल्य मान्यता विपरित कार्य गरी संस्थालाई नै ध्वस्त पार्ने काम गरिएको कारण नेपाली होटल व्यवसायी संघमा आवद्ध भएर काम गर्नका लागि आफू लगायत अन्य थुप्रै सदस्यहरु संस्था प्रवेश गरेको जानकारी दिए ।

उनले अबका दिनहरुमा नेपाली होटल व्यवसायी संघमा रहेर व्यवसायीका समस्या समाधान र यस क्षेत्रमा रहेका विकृति–विसंगती हटाउन संघसँग हात्तेमालो गर्दै अघि बढने प्रतिवद्धता समेत व्यक्त गरे ।

त्यस्तै अर्का सदस्य कृष्ण भण्डारीले सम्पूर्ण व्यवसायीहरु एक हुन सकेमा मात्र व्यवसायीका समाधान गर्न सकिने बताए । उनले आगामी दिनमा बसपार्कमा भएका सबै व्यवसायीहरुलाई एक बनाएर लैजाने समेत जानकारी दिए ।

यसअघि आवद्ध भई ८–१० वर्ष काम गरेको संस्थामा कार्यसमितिले व्यक्तिगत स्वार्थका लागि काम गरेका कारण आफू नेपाली होटल व्यवसायी संघमा आवद्ध हुन आएको उनले बताए । संस्थालाई सुधार गरौ भन्दा पनि कुनै कुरा सुनुवाई नभए पछि आफू संस्था छोड्न बाध्य भएको र व्यवसायिक हकहितका लागि निष्पक्ष भएर लागिपर्ने संस्थामा आवद्ध भएर काम गर्ने अठोट लिएको उनले बताए ।

कार्यक्रममा व्यवसायीहरुले होटल व्यवसाय क्षेत्रमा देखिएका समस्या र विकृतिहरुका बारेमा वडाअध्यक्ष घिमिरे र संघका अध्यक्ष ढकालको ध्यानाकर्षण गराउँदै चाँडो समाधान हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष काजीबहादुर कटुवालले राखेका थिए भने कार्यक्रमको संचालन संघका महासचिव समदेन लामा (दिपक) ले गरेका थिए ।

एकैदिन ५७ जना सदस्य थपिए

व्यवसायीक एकता अभियान कार्यक्रममा एकैदिन अन्य संस्थाबाट आएका ५७ जना सदस्यहरु संघमा प्रवेश गरेका थिए । यसअघि आवद्ध संस्थामा बिकृति विसंगतिहरु रहेको र व्ययसायीक हित विपरित कार्य हुने गरेकाले आफुहरु नेपाली होटल व्यवसायी संघमा आवद्ध हुन आएको उनीहरुको भनाई छ ।

संघका अध्यक्ष ढकालले नेपाली होटल व्यवसायी संघ सबै व्यवसायीको साझा संस्था भएकाले यसमा जोसुकै होटल व्यवसायी आवद्ध हुन सक्ने बताए ।

काठमाडौंको नयाबसपार्क क्षेत्रमा होटल व्यवसाय गर्दै आएका व्यवसायीहरुको साझा संस्था नेपाली होटल व्यवसायी संघ वि.सं. २०५७ सालमा केहि व्यवसायीहरु मिलेर स्थापना भएको संस्था हो । संघका अनुसार अहिलेसम्म संस्थामा ४५० भन्दा बढी सदस्यहरु आवद्ध भईसकेका छन भने सदस्य थपिने क्रम दिनानुदिन बढदै गएको छ ।

यस संस्थाले स्थापना कालदेखिनै होटल व्यवसाय क्षेत्रभित्र देखिएका विकृति विसंगतिहरु समाधान गर्न लागिपरिरहेको छ । आगामी दिनहरुमा पनि होटल व्यवसायीका मुद्धाहरु उठाउँदै होटल व्यवसायलाई संरक्षण र प्रवद्र्धन गर्दै जाने, व्यवसायीका हकहितमा दत्तचित्त भएर लाग्ने र नेपालभरकै सबैभन्दा ठूलो संस्था बनाउने प्रतिबद्धता संघले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *