भृकुटीमण्डपको जुत्तामेला अब बागबजारमा, स्थायी शोरुममा नै लाग्यो मेला
- रोजगारमञ्च
- जेष्ठ १०, २०७९
- 0
काठमाडौको मुटु मानिने बागबजारमा चर्चित नेपाली ब्राण्डका जुत्ताचप्पलको ‘महाकुम्भ जुत्ता मेला’ शुरु भएको छ । भृकुटीमण्डपमा लागेको जुत्तामेला सकिएलगत्तै बागबजारमा मेला सरेको हो ।
यसअघि भृकुटीमण्डपमा मेला संचालन गर्दै आएका चर्चित नेपाली ब्राण्डहरुले रत्नपार्कको आकासेपुलसँगै रहेको पहिला ‘रातोघर’का नामले परिचित स्थानमा निर्माण भएको नवनिर्मित कम्प्लेक्सको पहिलो तल्लामा ‘स्थायी शोरुम’मा मेला लगाएका हुन् ।
भृकुटीमण्डपमा केही दिन लाग्ने मेला भन्दा स्थायी शोरुममा मेला लगाउँदा उपभोक्तालाई थप सहज हुने अपेक्षासहित बागबजारमा मेला लगाएको आयोजकको भनाई छ ।
यसअघि संचालन गरेका मेलाहरुमा आम उपभोक्ताको ठुलो आकर्षण देखिएपछि सबैको सहजताका लागि उपत्यकावासी आउजाउको केन्द्रविन्दुमै शोरुमसहित मेला संचालनमा ल्याएको आयोजक केटिएम सुजका प्रवन्ध निर्देशक प्रमोद महतोले जानकारी दिएका छन् ।
नयाँ तथा आधुनिक डिजाइनका एक हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध मेलामा छुट, स्कीम र वारेन्टीसहित उत्पादन लागतमै जुत्ताचप्पल उपलब्ध रहेको आयोजकको भनाई छ ।
मेलामा नेपालका प्रख्यात ब्राण्ड स्मार्ट सुज, सम्राट सुज, केटीएम सुज र भेनस सुजका नयाँनयाँ डिजाइनका स्टाइलिस जुत्ताचप्पल उपलब्ध छन् ।
मेलाको औपचारिक शुभारम्भ तयारी गरिरहेको आयोजकले मेला संचालनको शुभारम्भमा प्रत्येक जुत्ता खरिदमा २० देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको अर्का आयोजक भेनस सुजका प्रवन्ध निर्देशक जीवन श्रेष्ठको भनाई छ ।
जुत्ता कम्पनीले सीधै ग्राहकहरुलाई जुत्ताचप्पल उपलब्ध गराउने हुँदा एजेन्सी, होलसेलर तथा पसलहरुले लिने कमिशन नजोडिदा उत्पादन मूल्यमै ग्राहकहरुलाई उपलब्ध हुने आयोजकको दावी छ ।
मेलामा नै हेल्पडेस्क पनि रहने हँुदा वारेन्टी तथा गुनासोका लागि उपभोक्तालाई सहज हुने अपेक्षा आयोजको छ ।
स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका साथै खरिद सहजताका लागि नयाँ ठाँउमा स्थायीरुपमै संचालनमा आएको कुम्भमेलाले अर्को फड्को मार्नेछ ।