मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त
- बैशाख ३, २०७९
- 0
मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त हुनुभएको छ ।
नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको ३५५औं बैठकले २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) मा नियुक्त गरेको हो ।
विगत ३१ बर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री ९चतुर्थ० बाट विभूषित श्रेष्ठले एसिया स्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान समेत पाइसक्नुभएको छ ।
मेगा बैंकको स्थापनादेखि नै नायब महाप्रबन्धकमा प्रवेश गरी महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत हुँदै निजी क्षेत्रको राष्ट्रियस्तरको बाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको रुपमा चार बर्ष अघि मेगा बैंक नेपाल लिमिटेडको नेतृत्व सम्हाल्नु भएकी अनुपमा खुञ्जेलीको सिइओको कार्यकाल २०७९ वैशाख १ गतेदेखि समाप्त भएकाले बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
३१ बर्षको बैंकिङ सेवामा ४ बर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसहित मेगा बैंक नेपाल लिमिटेडमा १२ बर्ष भन्दा बढी अवधि सेवा गर्नु भएकी खुञ्जेलीलाई यस बैंकको उन्नति, प्रगति तथा श्री बृद्धिमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै विशेष धन्यवाद दिने र उहाँको उज्ज्वल भविष्यको कामना गर्ने निर्णय समेत बैंक सञ्चालक समितिले गरेको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिनुभयो ।
आफ्नो चार बर्षे कार्यकाल पूरा गरी बिदा हुनु भएकी खुञ्जेलीको सम्मानमा बैंकले बिदाई समारोहको आयोजना गर्ने पोखरेलले बताउनुभयो ।