शनिबारबाट पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने व्यवसायीको चेतावनी, भारतले पठायो नयाँ मूल्यसूची
- चैत्र १८, २०७८
- 0
राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि अत्यावश्यक पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प पारेको छ भने माग पुरा नभए भोलि शनिबारदेखि बिक्री नै बन्द गर्ने चेतावनी दिएको छ ।
निगमले आफ्नो घाटा कम गर्न पेट्रोलियम पदार्थको भाउ बढेअनुसार तत्काललाई बिक्रेता कमिसन नबढाउने निर्णय गरेपछि व्यवसायीले पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प पारेका हुन ।
सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए।
सरकारले गत वर्षदेखि पेट्रोल र डिजेल बिक्री गर्ने पम्पले प्रतिशतका आधारमा कमिसन पाउने व्यवस्था गरेको थियो । पेट्रोल, डिजेलको मूल्य बढ्दा व्यवसायीको कमिसन पनि बढ्थ्यो, मूल्य घट्दा कमिसन पनि घट्थ्यो ।
निगम सञ्चालक समितिको फागुन १९ गते बसेको बैठकले व्यवसयीले नयाँ मूल्यअनुसारको अतिरिक्त कमिसन नदिने निर्णय गरेको हो। व्यवसायीले डिलर कमिसन फागुन ७ कै मूल्यका आधारमा दिँदै आएको छ।
बिक्रेतालाई कमिसन नथप्ने विषयमा सरकारले व्यवसायीसँग छलफल गरेर मात्रै अगाडि बढ्नुपर्ने एसोसिएसनका अध्यक्ष लिलेन्द्रले बताए । ‘हामीले पाउने अधिकार कटौती गर्न सरकारले हामीसँग छलफल गर्नु पर्थ्यो,’ प्रधानले भने।
ग्यास, पेट्रोल तथा ढुवानी व्यवसायीले संयुक्त रूपमा इन्धन ढुवानी भाडा बढाउनु पर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायतका माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका छन्।
समस्या समाधानका लागि व्यवसायीसँग समय माग्दा नदिएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए।
भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची
नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ ।
नयाँ मूल्यसूचीअनुसार एलपी ग्यासमा मात्रै प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा मूल्य बढेको छ ।
यस्तै, मट्टितेलको मूल्य २२ रुपैयाँ १८ पैसा बढेर आएको छ भने डिजेलको मूल्य स्थिर छ । पेट्रोलको मूल्य भने १ रुपैयाँ ४८ पैसा घटेको छ ।
निगमले यसअघि २ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । नयाँ मूल्य सूचीका आधारमा निगमलाई प्रति महिना करिब १० अर्ब रुपैयाँ नोक्सानी हुने देखिएको छ । २०७८/७९ मा मात्रै निगमले ३२ अर्ब रुपैयाँ नोक्सानी व्यहोरिसकेको छ ।
आगामी दिनमा आपूर्ति व्यवस्था सहज बनाइराख्न अत्यन्त कठिन हुने देखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।