प्रगतिशिल मञ्चको अध्यक्षमा राजेन्द्र भण्डारी बिजयी, महासचिवमा रावल

news-details

नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको अध्यक्षमा राजेन्द्र भण्डारी विजयी भएका छन् । आइतबार भएको निर्वाचनबाट भण्डारीले आफ्ना प्रतिद्वन्द्वी मञ्चका पूर्व उपाध्यक्ष तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरूङलाई पराजित गरेका हुन् ।

मञ्चको स्थापनाकालदेखि नै सक्रिय भण्डारी मञ्चको कार्यवाहक अध्यक्ष थिए । भण्डारीले आफ्ना प्रतिद्वन्द्वी गुरूङलाई ४८ मतान्तरले पराजित गरेका छन् । अध्यक्षमा विजयी भण्डारीले ८७ र उनका प्रतिद्वन्द्वी गुरूङले ३९ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

मञ्चको निर्वाचनमा करिब ४० प्रतिशत मतदाता व्यवसायी मतदानमा सहभागी भएनन् । अध्यक्षका लागि पूर्व अध्यक्षहरू हरि बहादुर पाण्डे क्षेत्री र मञ्चका पूर्व उपाध्यक्ष भीष्म राज शर्मा शिवाकोटीले उम्मेद्वारी फिर्ता लिएपछि भण्डारी र गुरुङबीच निर्वाचन भएको थियो । गुरूङका पक्षमा समर्थन जनाउँदै क्षेत्रीले आफ्नो उम्मेदवारी फिर्ता लिए पनि अध्यक्ष पदमा भण्डारीले बाजी मारे ।

दुई वर्षे कार्यकालका लागि मञ्चको ४२ सदस्यीय कार्यसमिति चयन हुने जनाइएको छ । अध्यक्ष पद बाहेक अन्य पदमा भने सर्बसम्मत भएको छ ।

मञ्चको पाँच उपाध्यक्षमा डिक बहादुर खत्री (कुमार), राम कुमार राई, दलबीर भण्डारी, सरिता घले र सञ्जु गुरूङ सर्बसम्मत निर्वाचित भएका छन् । मञ्चको महासचिवमा जनक रावल निर्वाचित भएका छन् ।

त्यसैगरी मञ्चको उपमहासचिवमा मिलन कट्टेल, दण्डपाणि भट्टराई (दिलिप) चयन भएका छन् । ७ जना सचिवमा मदन पौडेल, सुशील केसी, हरि बहादुर ठाडा मगर, अमृत बिश्वकर्मा, बेनी बहादुर कार्की, धनमाया सिंजाली र राजेन्द्र अधिकारी निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमामा शिवहरी मैनाली (शितल) सर्वसम्मत चयन भएका छन् ।

२५ सदस्यमा जनक पौडेल, हरि डाँगी, आङछिरिङ शेर्पा, भीष्म शिवाकोटी, खेमनाथ गौतम, माधव प्रसाद भुर्तेल, दिपक आचार्य, उमेश महतो, सुर्य बहादुर डाँगी, विनोद बिष्ट, मोहन प्रसाद आचार्य, श्यामचन्द्र खतिवडा, रेशम लामिछाने र लोकबहादुर सुवेदी सर्वसम्मत निर्वाचित भएका छन् । अन्य ११ जना सदस्य मनोनित गरिने जनाइएको छ ।

मञ्चको गत सोमबार नै पाँचौ साधारणसभा भएपनि नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत बनाउने प्रयास असफल भएपछि आइतवार मात्र निर्वाचन भएको थियो । मञ्चको आगामी कार्यकाल सफल बनाउने र आफ्ना प्रतिस्पर्धी तथा अग्रजहरुको सकारात्मक सल्लाह र सुझाव अनुसार अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष भण्डारीले प्रतिवद्धता जनाएका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *