नीति निर्माणमार्फत अर्थतन्त्र सुधार गर्न अर्थमन्त्री शर्माको निर्देशन
- चैत्र ५, २०७८
- 0
अर्थमन्त्री जनार्दन शर्माले नीति निर्माणमार्फत अर्थतन्त्र सुधार गर्न र पुँजी निर्माणमा ध्यान दिन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आयोजित चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक समीक्षामा बोल्दै अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् ।
त्रैमासिक समीक्षामा अर्थ मन्त्रालय मातहतका सबै निकायको उपस्थिति थियो । समीक्षामा महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, ऋण असुली न्यायाधिकरण, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि बिकास बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सञ्चय कोष, राजस्व परामर्श समिति, एमसीसी परियोजना, बिमा समिति, बिमा संस्थान, बिमा कम्पनी, नेपाल राष्ट्र बैंक लगायतको सहभागिता थियो । ।
कार्यक्रममा सहभागी सबै निकायले दोस्रो त्रैमासका लागि राखिएको लक्ष्यअनुसार अधिकांश काम सम्पन्न भएको मन्त्री शर्मालाई जानकारी दिएका थिए । कार्यक्रममा मन्त्री शर्माले संस्था सुधार गर्ने, प्रविधिको प्रयोग गने, प्रविधिको अपडेट गरिरहने लगायतका काममा ध्यान दिन सबै निकायलाई उल्लेख गरे ।
नियम कानुनले सरकारी संयन्त्रलाई बाँधेर राखेको भन्दै सच्याउन मन्त्री शर्माको निर्देशन छ । ‘हामी आफैँले बनाएको नियम, कानुनले आफैँलाई बाँध्ने काम गरिरहेका छौँ । नियम, विनियम संशोधन गरेर कार्य प्रकृति अनुकूल बनाउनुस्’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आयातमा परेको चापका कारण अर्थतन्त्रका केही सूचक अपेक्षाकृत नभए पनि बिस्तारै सुधार भइरहेको समेत मन्त्री शर्माले बताएका थिए ।
‘आयातमा भएको वृद्धि हामीले लिएको नीतिअनुसार बिस्तारै सुधार भइरहेको छ । राष्ट्र बैंक अझै उद्धार भयो भने यो समस्या सुधार हुन्छ । अन्य बैंक वित्तीय संस्थालाई पनि मैले सुधारका काममा केन्द्रित गर्न भनेको छु’ उनले भने, ‘बैंकिङ क्षेत्र र व्यवसाय एकै ठाउँमा हुन्छ । अहिले ब्याजदर बढ्यो भनेर व्यवसायीले विरोध गरिरहेका छन् ।’ यसलाई समाधान गर्नतर्फ राष्ट्र बैंकको ध्यान जानुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा राष्ट्र बैंकका अधिकारीले मूल्यवृद्धिको वार्षिक लक्ष्य ६.५ प्रतिशत रहेको र माघ मसान्तसम्म ५.९७ प्रतिशत रही वाञ्छित सीमा भित्रै रहेको जानकारी दिएका थिए । यस्तै, योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले विदेशी मुद्राको चाप बढेको भन्दै समाधानका लागि ध्यान दिन आग्रह गरे । सबै निकाय जिम्मेवार भई काम गरे वर्तमान अर्थव्यवस्थामा सुधार गरी जनतामाझ राम्रो नतिजा दिन सकिने पौडेलको भनाइ छ ।
राजस्व सचिव कृष्णहरि पुष्करले जनतालाई आभास हुने गरी सेवा दिन सक्नुपर्ने बताए । ‘हाम्रो कार्यशैलीमा सुधार गरौँ र हामीले गरेको काम जनस्तरसम्म पुग्ने गरी जिम्मेवारी बहन गरौँ’ उनले भने ।