म्याग्दी खोला जलविद्युत आयोजनामा लगानीको अवसर
- माघ २९, २०७८
- 0
म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनामा लगानी गर्न इच्छुक म्याग्देलीलाई फागुन मसान्तसम्म लगानी खुल्ला गरिएको छ।
जलविद्युत आयोजना निर्माणको जिम्मा लिएको धौलागिरी कालिका हाइड्रो कम्पनीले आयोजनाबाट प्रभावित व्यक्तिहरू र स्वदेश तथा विदेशमा रहेका इच्छुक म्याग्देलीलाई फागुन मसान्तसम्म लगानी खुल्ला गरेको हो।
कम्पनीले म्याग्दी खोलामा २५ मेगावाटको जलविद्युत आयोजना आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। सो आयोजनाले ३० प्रतिशत बराबरको शेयरका लागि आगामी फागुन महिनासम्मको समय तोकेको छ।
उक्त जलविद्युत आयोजनामा न्यूनतम १ लाखदेखि १० लाखसम्म लगानी गर्न पाइने कम्पनीका अध्यक्ष विनोद कुवँरले जानकारी दिएका छन्। अध्यक्ष कुवँरका अनुसार संस्थापक लगानीकर्ता बन्न चाहनेलाई यो समयभित्र लगानी गर्न अनुरोध गरिएको हो।
उनले किस्ता तिर्न बाँकी लगानीकर्ताहरूलाई पनि सोही समयावधि कायम गरिएको बताए। आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी रहेको छ। हाल साइट अफिस, कर्मचारी आवास, लेवर क्याम्प निर्माण सम्पन्न भएको छ भने आयोजनास्थलसम्म पहुंँच मार्ग निर्माणसहित अन्य पूर्वाधार र विष्फोटक पदार्थ व्यवस्था गरी सुरुङ निर्माण कार्य भइरहेको प्रवन्ध निर्देशक हर्कमान घर्ती मगरले जानकारी दिए।
आगामी डेढ वर्षसम्म सर्वसाधारणका लागि शेयर निस्कासन गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ।आयोजनामा स्थानीय लगानिकर्ताहरूका साथै म्याग्दीमा जन्मिएर प्रवासमा रहेका लगानीकर्ताहरूको बाहुल्यता रहेको छ।
एनआरएनए हङकङ समूह, काठमाडौं म्याग्दी इन्भेष्टमेण्ट कम्पनी र ग्लोबल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवर्तक रहेको आयोजनाको २१ करोड प्रति मेगावाटभन्दा कम नै लाग्ने गरी काम गरिरहेको छ।
लागत वृद्धिमा कोरोनाको कारण काम ठप्प, ठेकेदारको लापरबाही तथा ढिलासुस्तीबाट अवधि थप, प्रर्वधकहरूमा आर्थिक अनुशासनमा कमी जस्ता विविध कारणले भएपनि आयोजनाले अन्य खर्चहरुलाई कम गदै प्रति मेगावाट लागत २१ करोडभन्दा तल नै राख्ने गरी काम गरेको जनाएको छ।
आयोजनाबाट उत्पादन हुने विद्युत बिमको सबस्टेसनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ। हिउँदको चार महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायामको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्रीको सम्झौता भएको छ।