राष्ट्रिय व्यापार संघको अध्यक्षमा श्रेष्ठ, सर्वसम्मतीले नयाँ कार्यसमिति चयन
- पुस २६, २०७८
- 0
राष्ट्रिय व्यापार संघको १७ औं साधारणसभा तथा नवौं महाधिवेशनले सरोजकुमार श्रेष्ठको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति गठन गरेको छ ।
दुई वर्षका लागि निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा हिमलाल खराल, द्वितीय उपाध्यक्षमा रामचन्द्र पराजुली, तृतीय उपाध्यक्षमा पदमबहादुर लामिछाने, महासचिवमा बैकुण्ठ दाहाल, कोषाध्यक्षमा केदारप्रसाद न्यौपाने, सहकोषाध्यक्षमा सञ्जय अग्रवाल, सचिवमा हरिप्रसाद पाण्डे र सहसचिवमा बैकुण्ठ भण्डारी चयन भएका छन ।
यस्तै सदस्यहरुमा मोहनीलाल न्यौपाने, महेन्द्र भण्डारी, विनोद भण्डारी, रामसुन्दर माकाजु, प्रविन अग्रवाल र सुनिल अग्रवाल चयन भएका छन ।
संघको १७ औं साधारणसभा तथा नवौं महाधिवेशन न्युरोडस्थित माडवारी सेवा समितीको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
साधारणसभा तथा नवौं महाधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका पुर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईले सबै मिलेर अगाडि बढ्न सके देश समृद्ध बन्ने बताए । ‘मुलुकमा राजनीतिक व्यवस्था फेरिए पनि आर्थिक, प्रशासनिक, सुरक्षा, न्यायलयजस्ता निकाय पुरानो ढङ्गले सञ्चालन हुँदा देशले सोचेको जस्तो विकासको गतिलाई अगाडि बढाउन सकेन’, भट्टराईले भने ।
उनले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरूमा आएको परिवर्तनलाई आत्मसात् गरेर राजनीतिक नेतृत्व अघि बढे मुलुकमा छिटोभन्दा छिटो विकास र समृद्धि हुने उल्लेख गरे ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि पूर्वसचिव कृष्णहरि बाँस्कोटाले चीनसँग व्यापार गर्ने व्यवसायीले नाकामा ठूलो समस्या भोग्नुपरेको भन्दै व्यापार सहजताको वातावरण निर्माणका लागि सरकारले पहल गर्नुपर्ने बताए ।
‘कोभिड–१९ ले थला परेका व्यवसायीलाई आफ्नो कार्य क्षेत्रबाट पलायन हुन नदिन विश्वका कैयौँ मुलुकले करमा छुट दिएका छन्, नेपालले पनि यस्ता कार्यहरू पछ्याउन सके व्यवसायीलाई केही राहत हुन सक्थ्यो’, उनले भने ।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका पूर्वउपाध्यक्ष कमलेश अग्रवालले व्यवसायीलाई आफ्नो व्यवसायबाट पलायन हुन नदिन सरकारले नयाँ नीति ल्याउनुपर्ने बताए ।
सोही अवसरमा संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।